Finding ways of solution for teaching learning issues.

सामग्री व्यवस्थापनमा विद्यालयको अवस्था

२९ आसाढ, २०७८

शिक्षणलाई समयसापेक्ष गतिशील बनाई वैयक्तिक विभिन्नतालाई मध्यनजर गरी आवश्यकताको आधारमा सहज सिकाइ वातावरण निर्माण गरी उच्च गुणस्तरको उपलब्धि हासिल गराउनु अहिलेको आवश्यकता हो । यसका लागि परम्परागत सिकाइ पद्धतिमा परिमार्जन गरी आधुनिक प्रविधियुक्त सिकाइ वातावरण निर्माण गर्नु पर्दछ ।


प्रविधियुक्त शिक्षणका लागि पूर्वाधार विकास अपरिहार्य छ । खासगरी विद्यालयहरुमा डिजिटल सिकाइ वातावरण निर्माणका लागि अत्यावश्यक सामग्रीहरुको यथोचित व्यवस्थापन हुनु पर्दछ । विभिन्न कारणले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन हुन नसक्ने अवस्था सृजना हुँदा समेत निरन्तर सिकाइ सञ्चालन गर्न सकिने प्रविधि विद्यालयमा स्थापित हुन सकेमा शिक्षा क्षेत्र विना रोकावट सुचारु हुन सक्दछ ।

आधुनिक प्रविधि अर्थात् इन्टरनेटको माध्यमबाट भर्चुअल कक्षा सञ्चालन गर्न सकिएमा सिकाइ थप प्रभावकारी हुने कुरामा कुनै शंका छैन । अहिलेको कोभिड महामारीका कारण विद्यालयहरु बन्द भइरहँदा र विद्यार्थीहरु औपचारिकताका आधारमा कक्षोन्नती भइरहँदा आगामी पुस्ताको भविश्य कस्तो होला ? यहि अवस्थाबाट विद्यालयहरु गुज्रिरहने हो भने यसले मुलुकलाई दीर्घकालीन रुपमा असर पुर्‍याउने निश्चित छ ।

दुई दुई ‌ओटा शैक्षिक बर्षहरु अन्योलताबाट गुज्रिसक्दा पनि अबको विकल्प के हुन सक्दछ भन्ने विषयमा विद्यालयहरुमा खासै योजना बन्न सकिरहेको छैन । लामो समय सम्म विद्यालय बन्द हुँदा पनि अझै विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थिति गराएर विद्यालय सञ्चालन गर्नका लागि धेरै विद्यालयहरु कुरेर बसिरहेको अवस्था छ । अर्थात् शिक्षणका लागि वैकल्पिक उपायहरुमा खासै ध्यान दिइएको छैन । कहिँ कतै वैकल्पिक उपायका बारेमा छलफल हुँदा पनि विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालन गर्न सकिने खालका वैकल्पिक उपायहरुले प्राथमिकता पाउने गरेका छन् । विद्यालयहरु जोखिम मोलेरै भए पनि टोल टोलमा गएर कक्षा सञ्चालन गर्न का लागि तयार देखिन्छन् तर इन्टरनेटको माध्यमबाट सिकाइलाई आधुनिक बनाउनका लागि खासै चासो देखाएको पाईंदैन ।

प्रविधिमा कुनै किसिमको पहुँच नै नहुँदा र विद्यालयमा यसको पूर्वाधार शुन्य हुँदा आधुनिक प्रविधियुक्त विकल्प प्रयोगमा ल्याउन असम्भब हुन्छ । यस्तो विद्यालयले पनि समयसापेक्ष सहज, सरल र प्रभावकारी सिकाइ वातावरण निर्माणका लागि पूर्वाधार विकासमा ध्यान दिनु जरुरी छ । विद्यालयका प्रयासहरु पूर्वाधार विकासतर्फ उन्मुख हुनु पर्ने हो यदि कुनै पूर्वाधार नै छैन भने । तर विद्यालयमा भएका प्रयासहरुले यतातिरको बाटो खासै समात्न सकेको देखिँदैन ।

शिक्षा सम्बद्ध निकायहरुबाट विद्यालयमा प्रविधिको विकासका लागि गत दशकबाट नै पूर्वाधार विकासका कार्यक्रमहरु लागू गरिएको छ । बर्षौनी विद्यालयहरुलाई प्रविधिमा आधारित सामग्री खरिद, व्यवस्थापन र सञ्चालनका नाममा बजेट विनियोजित हुँदा धेरै विद्यालयहरुले केहि हद सम्म भए पनि सामग्री प्राप्त गरेका रेकर्डहरु दाता निकायहरुको अभिलेखालयमा सुरक्षित छन् । कम्प्युटर लगायतका सामग्री सञ्चालनका लागि विजुलीबत्तीको प्रवन्ध नभएका ग्रामिण तथा दुर्गम क्षेत्रका विद्यालयहरुमा समेत सोलार लगायतका वैकल्पिक उर्जाको अनुदानका साथमा सामग्रीहरु वितरण भएका छन् । प्राप्त सामग्री पर्याप्त नहोलान् तर पनि धेरै विद्यालयहरुमा आधुनिक सामग्रीको पहुँच क्रमशः बढ्दै गएको छ ।

सामग्रीको पहुँच नै नभएका विद्यालयहरुमा त पूर्णरुपमा पूर्वाधार विकासका लागि प्रारम्भबाट नै कार्य गर्नु पर्ने नै भयो तर पूर्वाधारको केहि विकास भएका विद्यालयहरुमा कुन हालतमा प्राप्त सामग्रीहरुको उपयोग भएको छ भन्ने कुराले पक्कै पनि अबको वैकल्पिक पद्धतिलाई मार्गनिर्देशित गर्दछ ।

सामग्रीको व्यवस्थापन र प्रयोगको कुरा गर्नु भन्दा पहिले विद्यालयमा विद्यमान पूर्वाधार विकासमा विद्यालयले गरेका प्रयासहरुको चर्चा गर्नु उपयुक्त हुन्छ । विजुलीबत्तीको सुविधा भएका विद्यालयहरुका कक्षाकोठाहरुमा आधुनिक प्रविधिका सामग्रीहरु प्रयोग गर्न सकिने अवस्था छ कि छैन ? विद्यालयले सबै कक्षाकोठामा वायरिङ्ग गरेर इलेक्ट्रिकल एप्लिएन्सेजहरुलाई प्रयोग गर्न सकिने वातावरण निर्माण गरेका छन् कि छैनन् ?

धेरैजसो विद्यालयमा पहुँच हुँदा हुँदै पनि यो कुराले प्राथमिकता पाएको छैन । प्रविधिको प्रयोगका लागि त के प्रचण्ड गर्मीहुने ठाउँमा पनि कक्षाकोठामा पंखाको व्यवस्थापन नगरिएका धेरै विद्यालयहरु छन् । गर्मीका कारण असिनपसिन भएर सिकाइ कृयाकलापमा सहभागिता जनाउनु पर्ने अवस्था हुँदा फ्यान सम्म व्यवस्थापन गर्न तदारुकता नदेखाउने विद्यालयहरुमा सिकाइका लागि प्रविधिको व्यवस्थापन कसरी पो हुन सक्ला र खै ।

अब कुरा गरौं प्राप्त भएका सामग्रीको व्यवस्थापन र प्रयोगको । विद्यालयहरुमा कम्प्युटर लगायतका सामग्रीहरुको व्यवस्थापन त्यति राम्रो भएको पाईंदैन । सामग्रीहरुका लागि धेरै विद्यालयहरुमा प्रयोगशाला कै अभाव छ । प्रयोगशाला भएका विद्यालयहरुमा पनि समय समयमा यसको सरसफाई र मर्मत सम्भार नहुँदा अधिकांश कम्प्युटरहरु छिट्टै बिग्रने गरेका पाइएको छ । कतिपयमा त सामग्री खरिद गरिन्छ तर बर्षौं सम्म ती सामग्रीहरु बक्सामा नै भण्डारण गरिने तीतो यथार्थ हामी सामु छ । अझ भन्नु पर्दा कतिपयमा त राम्ररी चलिरहेका सामग्रीहरु कुनै निकाय वा दाताबाट वा अन्य स्रोतबाट नयाँ सामग्री उपलब्ध भए पश्चात् विस्थापित हुने र कालो कोठामा लगेर भण्डारण हुने गरेको पनि पाइन्छ ।

उपलब्ध भएका सामग्री प्रति विद्यालय संवेदनशील हुन नसक्दा विद्यार्थीहरु यसको प्रयोगबाट विमुख हुनु परेको अवस्था छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आवाज उठाउन नसक्ने र अभिभावकहरुमा सिकाइ सम्बन्धी चिन्तन कम हुने या भनौं सिकाइका लागि विद्यालयप्रति पूर्ण विश्वास भएका कारण यसमा खासै कसैको चासो गएको देखिँदैन ।

पूर्वाधार विकासका लागि सामग्रीको स्रोत जुटाउने नियामक निकाय वा दाता सँस्थाहरुले पनि सामग्रिको व्ययवस्थापन र प्रयोगको अनुगमन नगर्दा अवस्था झनै बिग्रदै गएको छ । स्थानीय चासो विद्यालयको आम्दानी र खर्च अनि त्यसको पारदर्शितामा भए पनि अझ पनि धेरै विद्यालयमा शैक्षणिक व्यवस्थापनको विषयमा कुनै ठोस योजना निर्माण नै हुन सकेको छैन । सामग्रीहरुको व्यवस्थापन औपचारिकतामा सिमित भएको अवस्था छ । धेरै विद्यालयहरुमा यसको संरक्षण, संवर्धन र सदुपयोग हुन सकेको छैन ।

कोभिड का कारण अहिलेको अवस्था अझ जटिल बन्दै गएको छ । अब विद्यालयहरुले भएका सामग्रीको उचित व्यवस्थापन र प्रयोग मात्र होइन थप सामग्री व्यवस्थापन गरेर निरन्तर सिकाइ गर्नु छ । यसका लागि सम्बद्ध सबै गम्भीर हुनु जरुरी छ ।

(गोविन्द भट्टराई, शिक्षक, होरालो शा.शि.स.मा.वि., तनहुँ)

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget