Finding ways of solution for teaching learning issues.

नेपाल पब्लिक क्याम्पस सँघको जिल्ला संयोजकमा जीतप्रकाश आले निर्विरोध निर्वाचित

 

भिमाद, तनहुँ(२१ चैत्र, २०७७)

नेपाल पब्लिक क्याम्पस सँघ तनहुँको चौथो जिल्ला अधिवेशन आज तनहुँको भिमाद नगरपालिका स्थित जनज्योति क्याम्पसमा जनज्योति क्याम्पस सञ्चालन समितिका अध्यक्ष श्री जीतप्रकाश आलेको संयोजकत्वमा ११ सदस्यीय समिति चयन गरी पब्लिक क्याम्पस सँघको आगामी रणनीति तथा कार्यनीति पारित गर्दै सम्पन्न भएको छ ।

खुल्ला सत्रको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले गर्दै स्थानीय स्तरमा स्थापित सामुदायिक कलेजहरुले स्थानीयमा उच्च शिक्षाको अवसर पुर्‍याएको र स्थानीय निकायहरुको विकासका लागि शैक्षिक जनशक्ति उत्पादनमा सहयोग गरेको यथार्थलाई हृदयङ्गम गरी स्थानीय निकायहरुले यी कलेजहरुको सहज सञ्चालन र विकासका लागि पन्छिन नमिल्ने कुरामा जोड दिँदै जिल्लाका सम्पूर्ण स्थानीय निकायहरुलाई सामुदायिक कलेजहरुलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्न सुझाव दिनुभएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल पब्लिक क्याम्पस सँघका पूर्व केन्द्रिय अध्यक्ष तथा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सामुदायिक कलेजहरुले भोगिरहेका समस्याहरुको उजागार गर्दै आफ्नो कार्यकालमा नेपालका सामुदायिक कलेजहरुको अस्तित्व कायम गराएको स्मरण गर्दै सामुदायिक कलेजको व्यवस्थापन र सञ्चालनका लागि छुट्टै विश्वविद्यालय स्थापनामा जोड दिनु भएको थियो । सामुदायिक कलेजहरुले गुणस्तरीय सिकाइका लागि न्यूनतम् मापदण्ड पूरा गर्नै पर्ने कुरा उल्लेख गर्दै वहाँले पूर्णकालीन प्राध्यापकको व्यवस्थापनमा कलेजहरुको ध्यानाकर्षण गर्नु भएको थियो ।

कार्यक्रमका वक्ता विशिष्ट अतिथि म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले पब्लिक कलेजहरुका समस्या समाधानका लागि स्थानीय तहहरु तयार रहेको जानकारी दिँदै भिमाद नगरपालिकामा अवस्थित जनज्योति क्याम्पसमा व्याडमिन्टन कोर्ट पालिकाको तर्फबाट निर्माण गरिदिने घोषणा गर्नु भएको थियो । वहाँले तनहुँका सबै पालिकाहरुले योजना निर्माण गर्दा पब्लिक कलेजहरुलाई प्राथमिकतामा राख्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रमका वक्ता विशिष्ट अतिथि नेपाल पब्लिक क्याम्पस सँघ गण्डकी प्रदेश संयोजक तथा आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले विस्तृत रुपमा पब्लिक कलेजका समस्या केलाउँदै देशको राज्य व्यवस्थाले पब्लिक क्याम्पसहरु प्रति देखाएको उदासिनता प्रति तीखो व्यङ्ग गर्नु भएको थियो । वहाँले देशका प्राय सबै प्रदेशहरुमा पब्लिक विश्वविद्यालय सम्बन्धी योजना कार्यान्वयनको चरणमा पुग्दै गर्दा गण्डकी प्रदेशमा केहि काम नभएकोले दवाब सृजना गरेर अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रमका अर्का वक्ता नेपाल पब्लिक क्याम्पस सँघ गण्डकी प्रदेश सदस्य मुक्ति रेग्मीले नेपालको करीव ४० प्रतिशत उच्च शिक्षा धानेको पब्लिक क्याम्पसप्रति राज्यले आफ्नो दायित्व र जिम्मेवारी बढाउनु पर्ने कुरामा तीनै तहका सरकारहरुको ध्यानाकर्षण गराउनु भएको थियो ।

आबुखैरेनी क्याम्पस सञ्चालन समितिका अध्यक्ष तथा निवर्तमान जिल्ला सहसंयोजक वंशीराम प्रधानले अहिलेको राजनितिक परिवेसले पब्लिक क्याम्पसहरुको समस्या अझ बल्झाएको कुरा उल्लेख गर्दै जिम्मेवार भएर राज्यका निकायहरु पब्लिक क्याम्पसहरु प्रति संवेदनशील हुन आग्रह गर्नु भएको थियो ।

नेपाल पब्लिक क्याम्पस सँघ गण्डकी प्रदेश कोषाध्यक्ष तथा जनज्योति क्याम्पसका क्याम्पस प्रमुख केशवराज काफ्लेले उपस्थित सम्पूर्णमा स्वागत गर्दै चौथो अधिवेशनको सफलताको कामना गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख रमेश बहादुर अधिकारीले गर्नु भएको थियो ।

अधिवेशनले सर्वसहमतिमा जनज्योति क्याम्पस सञ्चालन समितिका अध्यक्ष जीतप्रकाश आलेको संयोजकत्वमा ११ सदस्यीय जिल्ला कार्य समितिको चयन गरेको छ । उक्त समितमा सि.के.वि.के. कलेजका अध्यक्ष इन्द्र बहादुर कुँवर उपसंयोजक, आदिकवि भानुभक्त कलेजका प्राध्यापक सँघका सभापति विजयराज खनाल सचिव, आबुखैरेनी क्याम्पसका क्याम्पस प्रमुख ऋषि के.सी. कोषाध्यक्ष, तनहुँ शारदा कलेजका प्राध्यापक सँघका सभापति गोविन्द प्रसाद भट्टराई सहसचिव, र सदस्यहरु पुर्कोट कालिका क्याम्पसका अध्यक्ष दुर्गा बहादुर राउत, त्रिभुवन क्याम्पसका क्याम्पस प्रमुख रविन्द्रराज जोशी, बन्दिपुर क्याम्पसका क्याम्पस प्रमुख विक्रम पिया र प्राध्यपक सँघका सभापति गोवर्धन भट्टराई, शहिद कृष्ण क्याम्पसका क्याम्पस प्रमुख हरि लामिछाने र भानुभक्त बहुमखि क्याम्पस प्राध्यापक सँघका सभापति निरोज भट्टराई सर्वसम्मत चयन हुनुभएको छ । नवनिर्वाचित समितिको कार्यकाल तीन वर्षको हुने व्यवस्था छ ।

भेलाले तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको छ जसमा आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस सञ्चालन समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिना, आबुखैरेनी क्याम्पस सञ्चालन समितिका अध्यक्ष वंशीराम प्रधान र त्रिभुवन क्याम्पसका क्याम्पस सञ्चालन समितिका अध्यक्ष टेक बहादुर गुरुङ्ग रहनु भएको छ ।

अधिवेशन पब्लिक क्याम्पसहरुको विकासका लागि स्थानीय सरकारसँग समन्वय गर्नका लागि संयुक्त वैठक आयोजना गर्ने, चैत्र २६ र २७ गते आदिकवि भानुभक्त क्याम्पसमा हुन लागेको राष्ट्रिय भेलालाई सफल पार्ने, तीनै तहका सरकारलाई पब्लिक क्याम्पसहरुको सवलीकरणका लागि अनुरोध गर्ने र नेपाल पब्लिक क्याम्पस सँघ जिल्ला कार्य समितिको सचिवालय दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा राख्ने निर्णय सहित सम्पन्न भएको छ ।

 

 

  

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget