१ श्रावण २०७८
सफलता सँगै प्राप्त हुने सन्तुष्टि मानव जीवनको लक्ष हो । के मा सफलता र कुन स्तरको उपलब्धीले संन्तुष्टि प्रदान गर्दछ ?, भन्ने कुरा हरेकको वास्तविक परिस्थिति, अवस्था र वातावरणले निर्धारण गर्ने गर्दछ । अर्थात् आफूमा निहीत क्षमता, दक्षता, कार्यकुशलता, लगन र निरन्तरताले लक्षको सीमा तय गर्दछ । हुनत एक तहको लक्ष प्राप्ति पश्चात अर्को तहको लक्ष निर्धारित हुने गर्दछ । तथापि मुख्य लक्ष प्राप्ति पश्चात सामान्यतयाः मानिसमा सन्तुष्टिको रेखाङ्कन शुरु हुन्छ ।
जीवनलाई सहज, सरल र समृद्ध बनाइ आत्मसन्तुष्टि
प्राप्तिका लागि हरेक प्रयत्नशील रहन्छन् र रहनु पर्दछ । यसका लागि प्रत्येक ले
आफ्नो इच्छा, पहुँच र क्षमता अनुसार जीवननिर्वाहका लागि कुनै खास पेसा अवलम्बन
गर्ने गर्दछन् जुन जीवनको लक्ष प्राप्ति गर्ने आधार हो ।
जीविकोपार्जनका लागि भरसक सहज र सरल अनि राम्रो
आम्दानी गर्न सकिने पेसा अवलम्बन गर्ने चाहना सबैको हुन्छ र मानिस जीवनभर आफ्नो
लक्ष प्राप्तिका लागि संघर्षशील हुने गर्दछ । कार्य गर्ने इच्छाशक्ति, निरन्तरता,
मेहनेत र लगाव सफलता प्राप्त गर्ने कडी हुन् ।
असफलता विचको आशाले मानिसलाई प्रयत्नशील
बनाउँदछ । तर हाम्रा प्रयत्नहरु सकारात्मक हुनु आवश्यक छ । लक्ष प्राप्तिका लागि
धेरै बाटाहरुको उपयोग गर्न सकिन्छ । हामीले अवलम्बन गर्ने बाटो उदेश्योन्मुख र
मानवीय मुल्य, मान्यता र आस्था अनुकुल हुनु पर्दछ ।
पटक पटक असफलता हात लागि रहँदा र लामो समय सम्मको मेहनत खेर गएको अनुभूति भइरहँदा दिमागमा नकारात्मक भावना उत्पन्न हुन पनि सक्दछ । यसमा यदि आत्मनियन्त्रण कायम गर्न सकिएन भने लक्ष प्राप्तिका लागि गलत बाटो समात्ने सम्भावना हुन्छ । यसबाट क्षणिक सफलता त प्राप्त गर्न सकिएला तर त्यस्तो सफलताले आत्मसन्तुष्टि प्रदान गर्न सक्दैन । आत्मसन्तुष्टि विनाको प्राप्तिले जीवनमा सुख हैन पिडा र पश्चातापको ज्वारभाटा उत्पन्न हुने गर्दछ ।
उन्नती र प्रगति सबैलाई चाहिएको छ । तर यसका
लागि आवश्यक निष्ठा, लगन र धैर्यता कम हुँदै गएको छ । हरेकलाई एकदमै छिटो शिखर
चड्नु छ । आफ्नै मेहनत र बलवुताले लक्ष प्राप्ति गर्नु राम्रो हो तर यहाँ अर्कालाई
पछाडि पारेर आफू अगाडी बढ्ने प्रवृत्ति हावी हुँदै गएको छ ।
राम्रो बन्न सबैलाई मन पर्छ । राम्रो कर्मका
कारण राम्रो बन्ने हो । तर यहाँ राम्रो बन्नका लागि अर्कालाई नराम्रो बनाउन उद्धत
हुन थालेको छ मान्छे । आत्मविकासका लागि आफू केन्द्रमा हुनु पर्दछ । तर यहाँ ठीक
उल्टो अरुको चियोचर्चामा धेरैका बित्न थालेको प्रतीत हुँदै छ । यसले गर्दा सामाजिक
वातावरण क्रमशः धुमिल बन्दै गएको छ । समाजिक एकता र सौहद्रताका ठाउँमा क्रमशः
बेमेल र द्वन्द स्थापित हुँदै गएको छ ।
यहि अवस्थाले निरन्तरता पाउने हो भने मानवमा
मानवता हराउँदै जानेछ अनि मानवीय संवेदना, करुणा र दयालाई खोज्न तीनटोटे
टर्चलाइटले पनि काम गर्ने छैन ।
वातावरणमा खुसी भए मात्र जीवनमा खुशी प्राप्त
गर्न सकिन्छ । यदि अर्कालाई दुखी बनाएर वा अर्काको अस्तित्वमाथि खेलवाड गरेर कोहि
खुशी हुन्छु भन्छ भने त्यो सपना कहिल्यै पनि पूरा हुन सक्दैन ।
खुसी या सुख एक्लै प्राप्त गर्न कठिन हुन्छ । यहाँ
मानिसहरु खुशी प्राप्त गर्न ठेलमठेल गरिरहेछन् तर पनि प्राप्त गर्न सकिरहेका छैनन्
। त्यसैले जीवनलाई सार्थक बनाउन र शान्तिपूर्वक सुख र समृद्धिको अनुभूति गर्नका
लागि आपसी साथ र सहयोग जरुरी छ र एक आपसमा हातेमालो गर्नु पर्दछ ।
सहअस्तित्व सहितको सहकार्यबाट मात्र सुख
सहजरुपमा सुख प्राप्त गर्न सकिन्छ र यस्तो सुख चीरस्थायी हुन्छ ।
Post a Comment