कोभिड
१९ महामारीको दोस्रो वेभले अहिले देश आक्रान्त छ । विज्ञहरु तेस्रो वेभको
प्रक्षेपण गर्दैछन् । महामारीको स्वरुप थप जटिल र घातक बन्दै गएको छ । महामारी
विरुद्ध लडिरहेको देशको स्वास्थ्य सेवा सम्बन्धी संयन्त्र कमजोर बन्दै जाँदा स्थिति
नियन्त्रण भन्दा बाहिर जाने हो कि भन्ने खतरा बढ्दो छ भने आफ्नो सामर्थ्य अनुसार सम्पूर्ण
साधन र स्रोतको परिचालन गरि महामारी नियन्त्रण गर्नु पर्ने दायित्व बोकेको नागरिक सरकार
चरम राजनीतिक दलदलमा फसेको छ ।
जनताले
जनताको जनताका लागि गरिने शासनको उच्चतम् अवस्थामा पुगेर कार्यान्वयनको चरणमा
पुग्दै गर्दा नागरिकमा भने चिन्ता, भय, सन्त्रास र वितृष्णा भरिदै गएको छ । घरघरमा
सिँहदरबारहरु स्थापना त भए तर यसको अनुभूति नागरिकले गर्न सकेका छैनन् । स्वास्थ्य
जस्तो अति संवेदनशील विषयमा सिंहदरबार उदाशीन बनिदिँदा आज कोभिड महामारीका विच
जीवन रक्षा थप पेचिलो बन्दै गएको छ ।
हुनत
कोभिड १९ यति संक्रामक भएर निस्केको छ कि यसको नियन्त्रण गर्न संसारका विकसित
भनाउँदा मुलुकहरुलाई पनि हम्मे परेको छ । यस्तो अवस्थामा हाम्रो जस्तो मुलुक
समस्यामा पर्नु अस्वभाभिक होइन तथापि यसको
नियन्त्रणका लागि के कस्ता योजना निर्माण र कार्यान्वयन भए भन्ने कुराले पक्कै
महत्व राख्दछ ।
गत
बर्षको माघ महिनामा पहिलो पटक संक्रमण देखा पर्दा परीक्षणका लागि स्वाव हङ्गकङ्ग
पुर्याउनु परेको यथार्थले हाम्रो स्वास्थ्य सेवाको अवस्था कस्तो थियो भन्ने कुरा
चित्रित गर्दछ । भलै यो अवस्थाबाट महामारीको ग्राफ बढ्दै जाँदा ल्यावहरु स्थापित
भए । अस्थायी कोरोना हस्पिटलहरु स्थापित भए । देशमा लकडाउन गरियो । नागरिकहरुले
तोकिएको स्वास्थ्य मापदण्डको पालना गरे । फलस्वरुप पहिलो वेभलाई हामीले परास्त
गर्यौं भन्ने भन्ठान्यौं । हामीले यसो भन्दै गर्दा पश्चिमा मुलुकहरुमा कोरोनाको
दोस्रो वेभ आइसकेको थियो । विज्ञहरुले दोस्रो लहर आउने चेतावनी त दिँदै थिए तर पनि
पहिलो वेभमा देखापरेको संक्रमण दर र रोगको संक्रामक क्षमतालाई कमजोर आँकलन गरी
दैनिक जीवन सामन्य बन्दै जान थाल्यो ।
यहि
क्रममा देशमा राजनीतिक खिचातानीको शुरुवात भयो । खास गरेर सत्ताशीन पार्टी भित्रको
आन्तरिक शक्ति संघर्षले उग्ररुप लिन थाले पछि संसदको पूर्णावधि नपुग्दै संसद विघटन
गरेर मध्यावधि निर्वाचनको घोषणा गरियो । राजनीतिक दलहरु पक्ष र विपक्षमा संघर्ष
गर्न थाले । को भन्दा को कम भनेर दुबै पक्षबाट जुलुस, र्याली, भेला लगायतका विरोधसभाहरु
गर्न थालियो । महामारीका बेला राज्यको सम्पूर्ण सामर्थ्य यसको नियन्त्रणमा लगाउनु
पर्ने बेलामा राजनीतिक दलहरु वीच चरम राजनीतिक ध्रुवीकरण हुन गइ सरकार नागरिक
अधिकार प्रति उदशीन हुँदै अनुत्तरदायि बन्दै गयो । एक गुटले अर्को गुटलाई
सिध्याउने खेलमा कार्यकर्ताका नाममा सोझासाझा नागरिकहरुको प्रयोग गर्न थालियो ।
कोभिड
महामारीका कारण विश्व रोइरहँदा नेपालमा भने सत्ता र शक्ति आर्जनका लागि अन्तर
संघर्ष चलिरहेको थियो । सरकारका जिम्मेवार व्यक्तिहरुबाट गैर्हजिम्मेवारपूर्ण
अभिव्यक्तिहरुको बर्षा हुन थाल्यो । जसले गर्दा विपद व्यवस्थापनका लागि राज्यको
तयारी पुगेन र कोभिडको दोस्रो लहरले हामीलाई थप आक्रान्त बनायो । अझ गम्भीर असर त
के भयो भने देशको नेतृत्वबाट नै कोभिडलाई नजरअन्दाज गरी मनोखुशी अभिव्यक्ति दिँदा
नागरिकहरुमा स्वास्थ्य सचेतना घट्यो र महामारीले उग्ररुप लिन पुग्यो ।
हुनत
अब यसको उठान गरेर केहि फाइदा छैन । किनकि महामारी हामी विच काल बनेर आइसकेको छ ।
दोस्रो लहरले गाँज्दै गर्दा नागरिकमा सरकार प्रति अझै आशा र भरोसा टुटिसकेको थिएन
। विगतको राजनीतिक खिचातानी सर्वोच्च अदालतले विघटित संसद पुर्नस्थापना गरिसके पछि
सकिएको आँकलन सबैमा थियो । विपदका बेला पराईले त सहयोग गर्छन् भने आफ्नै मुलुकमा
राजनीति गर्ने नेतागण विच त विपद व्यवस्थापनका लागि सहकार्य हुन्छ र देशको
सम्पूर्ण शक्ति महामारीका विरुद्ध एकजुट हुन्छ भन्ने नै थियो ।
आखिर
राजनीतिक खिचातानीलाई अदालतले पनि रोक्न सकेन । सरकार एकलौटी ढंगबाट अगाडी बढ्दै
गयो । संसदमा प्रधानमन्त्रीको स्वेच्छिक विश्वासको मत देखि अगाडी अल्पमतको सरकार हुँदै
पुनः संसद विघटन र मध्यावधि निर्वाचनमा आइपुग्दा पुनः देशमा संकट आइपरेको छ ।
नागरिकहरु
अस्पतालमा वेड, अक्सिजन, आइसियु र भेन्टिलेटर नपाएर दिनदिनै मृत्युवरण गर्दैछन् ।
फ्रन्टलाइनमा खटेका स्वास्थ्यकर्मीहरु चौबिसै घण्टा खटिरहेका छन् । तर उनीहरुले
यथेष्ट साथ र सहयोग प्राप्त गर्न सकिरहेका छैनन् । अस्पताल, वेड तथा अन्य स्वास्थ्य
सामग्रीको व्यवस्थापन केवल घोषणामा सिमित हुन पुगेको छ । अहिले देशभर निषेधाज्ञा
लागू गरिएको छ । नागरिकहरुले सामान्य जीवन जीउन सकेका छैनन् । खासगरी मध्यम तथा
निम्न स्तरका नागरिकहरु दुई हात मुख जोर्नका लागि संघर्षशील छन् । उनीहरुलाई
राज्यबाट राहतका प्याकेजको व्यवस्थापन गरिएको छैन । नागरिक स्तरबाट संचालित
परोपकारी फुड बैंकहरुलाई भीडभाड बढ्ने नाममा क्रमशः निरुत्साहित गरिँदैछ ।
नागरिक
रक्षाका लागि पूरा गर्नु पर्ने दायित्वबाट राज्य विमुख हुँदै गएको अनुभूति हुन
थालेको छ । विश्वमा धेरै मुलुकका नागरिकहरुले कोभिढ विरुद्धको खोप लगाइ सके । खोप लगाएकाहरुलाई
संक्रमण भए पनि जटिल बन्दो रहेनछ । त्यसैले संकट न्यूनीकरणका लागि सबै
नागरिकहरुलाई खोपको सुनिश्चितता गर्नु अहिलेको आवश्यकता हो ।
राजनीति
जनजीविकासँग जोडिनु पर्दछ । यदि राजनीतिले नागरिक आवश्यकता पूरा गर्न सकेन भने राजनीतिक
व्यवस्था प्रति नै वितृष्णा पैदा हुन्छ । राजनीतिक मुद्दाहरुका कारण दलहरु विभाजित
होलान्, नागरिकहरु विभाजित होलान् । संवैधानिक, असंवैधानिक कामहरु भएका होलान् ।
यसको छिनोफानो राजनीतिक तथा कानुनी तवरबाट हुँदै जाला । तर यो संकटको घडिमा
महामारी नियन्त्रणका लागि सबै राजनीतिक दलहरुको सहकार्य अपरिहार्य छ ।
स्मरण
रहोस्, नागरिक जीवन रक्षा अहिलेको टड्कारो आवश्यकता हो ।
तनहुँ
Post a Comment