प्रतियोगिताले अवसर सृजना गर्दछ । अन्तरनिहित प्रतिभाको पहिचान गरी यसमा निखारता ल्याउनका लागि यो एउटा अवसर पनि हो । यहि अवसर हरेक पालिकामा प्रत्येक वर्ष सञ्चालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताले प्रदान गर्दै आएको छ । भलै सबै विद्यालयहरु सहभागि नभए पनि सहभागीता जनाउनेहरुका लागि यसले आफ्ना विद्यार्थीमा भएका प्रतिभामा निखारता ल्याउन सहयोग पक्कै गरेको छ ।
प्रतियोगितामा सहभागि भईसके पछि उक्त प्रतियोगितामा सर्वोत्कृष्ट स्थान हासिल गर्नु सहभागीहरुको प्रमुख उदेश्य हो र हुनु पर्छ । तथापि गन्तव्यमा पुग्न नसक्दा र सोचे बमोजिमको नतिजा प्राप्त गर्न नसकि रहँदा यसलाई स्वभाविक रुपमा लिएर आफूमा भएको क्षमतालाई प्रदर्शन गर्ने अवसरका रुपमा लिँदा पक्कै पनि यसले सकारात्मक आचरणको विकास गर्न मद्दत गर्दछ र प्रत्येक खेलाडीले यो गर्ने गर्दछन् ।
आफ्ना खेलाडीहरुले अपेक्षाकृत नतिजा हासिल गर्न नसक्दा केहि अमिलो महशुस हुँदो रहेछ । सायद यो सबैमा हुन्छ र त्यतिबेला हुन्छ जतिबेला सहभागिताको लक्ष जीत हासिल गर्नु हुन्छ । जीतले संतुष्टि प्रदान गर्दछ र मानिस खुशी हुन्छ । तर जीत त्यत्तिकै प्राप्त गर्न सकिन्न । यसका लागि लगाव, मेहनत र समर्पण आवश्यक हुन्छ भन्ने कुराको प्रायः नजर अन्दाज गरिन्छ । परिणामस्वरुप हाम्रो लक्ष हाम्रो पहुँच भन्दा केहि पर नै हुने गरेको छ ।
पाठ्यक्रममा निर्दिष्ट उपलब्धीहरुलाई विद्यार्थीको पहुँचमा पुर्याउनका लागि विद्यालयमा सहकृयाकलाप र अतिरिक्तकृयाकलाप विच उचित तादम्यता हुनु आवश्यक छ । विद्यालयहरुले अतिरिक्त कृयाकलापलाई विद्यालयमा नियमित रुपमा योजनावद्दढङ्गबाट सञ्चालन गर्न सकेमा मात्र विद्यार्थीमा अन्तरनिहित प्रतिभाको उजागार गर्न सकिन्छ । कुनै पनि प्रतियोगितामा सफलता हासिल गर्नका लागि तत् विषयमा अवसरको सृजना गर्नै पर्दछ ।
हामी हरेक असफलताका पछाडि अर्कालाई कारकका रुपमा सोच्ने गर्दछौं । हैन हाम्रो सहभागीले कतै मेरै कारणले गर्दा लक्ष प्राप्त गर्न नसकेको त हैन भनेर प्रायः हाम्रो दिमागले सोच्ने गर्दैन । हामीले विद्यालयमा अतिरिक्त कृयाकलापका लागि सृजना गरेको अवसर खेलाडीमा निखारता ल्याउनका लागि साँच्चै यथेष्ट थियो त ? भनेर हामी हत्तपत्त सोच्दैनौं । कुनै पनि प्रतियोगिता सञ्चालन हुँदै गर्दा हस्याङ्गफस्याङ्ग गरेर दुई चार ओटा प्रतियोगितामा औपचारिकता निभाउनका लागि सहभागी तयार गर्दछौं अनि त्यसमा पनि हामीलाई राम्रै नतिजाको अपेक्षा गर्छौं । अनपेक्षित नतिजा वेहोरे पनि किन र कसरी यस्तो भयो भनि आफूतिर औंला ठड्याउँदैनौं । सायद यहि कारणले हामीले सफलता हासिल गर्न सकि रहेका छैनौं ।
अनुशासन खेलको मेरुदण्ड हो । अनुशासित वातावरणको निर्माण व्यवहारगतरुपमा हुने गर्दछ । अनुशासन कायम गर्न आफू अनुशासित हुनु पर्दछ । त्यसैले विद्यालय अनुशासित नभए सम्म विद्यार्थी अनुशासित हुँदैनन् । विद्यालयको अनुशासन भनेको विद्यार्थीको रुचि, चाहना र क्षमता बमोजिमको अवसर सृजना गरेर विद्यार्थीलाई अन्तरनिहित प्रतिभाको खोजी गरी यसको विकास गर्ने वातावरण निर्माण गर्नु हो । सायद हामी यो विषयमा पास हुन सकेका छैनौं ।
अनेकौं सम्भाव्यता हुँदा पनि हामी त्यसको उपयोग गर्न सकिरहेका छैनौं । आफूमा भएका सम्भावनाको खोजी गरेर उपलब्ध स्रोत र सामग्रीको व्यवस्थापन गर्न भन्दा पनि परनिर्भर भएर यो छैन, त्यो छैन भनेर भैदिएको भए यसो गर्थ्यौं भनि अमूर्त कुरामै समय बिताउँदछौं । त्यसैले आफूमा भएको संभावनाको आँकलन गरी अन्य आवश्यक स्रोतको खोजीमा लाग्ने हो भने पक्कै पनि अहिलेको अवस्थामा सुधार ल्याउन सकिन्छ ।
अन्त्यमा, स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद भनेर खेलकूद सप्ताह मनाइरहँदा प्रत्येक विद्यालयले हाल सम्म भएका कमि कमजोरीहरुको आत्मसमिक्षा सहित आफ्ना विद्यार्थीहरुलाई नियमितरुपमा अतिरिक्त कृयाकलापको अभ्यास गराउनु जरुरी छ ।
गोविन्द भट्टराईशिक्षक
होमराज लोहनी शारदा शिक्षा सदन मा.वि.
भानु - २, नारेश्वरटार, तनहुँ ।
Post a Comment