Finding ways of solution for teaching learning issues.

आवश्यकता विचको प्रविधिमैत्री तालिमको सान्दर्भिकता

 


आवश्यकता विचको प्रविधिमैत्री तालिमको सान्दर्भिकता

आधुनिक प्रविधिको विकास सँगै मानवीय कृयाकलापमा डिजिटल सामग्रीहरुको प्रयोग बढ्दै जाँदा जीवनका हरेक पाटा र पक्षमा यो प्रायः अनिवार्य जस्तै बनेको छ । आधुनिक सूचना प्रविधिका साधनहरुको प्रयोगबाट आवश्यकता बमोजिमका सूचनाहरु सजिलै प्राप्त गर्न सकिने भएकोले गर्दा सिकाइ प्रकृयामा यसको पहुँच बढाउनु पर्दछ ।

प्रविधिको प्रभाव दिनानुदिन बढ्दै जाँदा अहिलेको पिँढि क्रमशः डिजिटल बन्दै गएको छ । उनीहरुका प्रत्येक कृयाकलापहरु प्रविधि केन्द्रित हुँदै गएका छन् जसले गर्दा विद्यालयहरुमा परम्परागतरुपमा गरिने शिक्षण निस्प्रभावी बन्दै गएको छ । सिकारुलाई सिकाइ प्रकृयाप्रति आकर्षित गरी उदेश्योन्मुख शिक्षणका लागि शिक्षणमा प्रविधिको प्रयोगको विकल्प छैन । शिक्षणमा प्रविधिको प्रयोगगरी सिकाइलाई प्रभावकारी बनाउनका लागि विद्यालयमा आधुनिक प्रविधिका सामग्री र प्रविधिमैत्री शिक्षकको आवश्यकता पर्दछ जसका लागि शिक्षकलाई प्रविधिमा आधारित तालिम दिनु पर्दछ ।

संघियता लागू भएसँगै विद्यालय तह स्थानीय तह मातहत आए पछि यस अन्तरगतको शिक्षा, युवा तथा खेलकूद शाखाबाट विद्यालयका केहि शिक्षकहरुलाई प्रविधिमा आधारित तालिम दिन शुरु गरिएको छ । यो एकदमै सह्रायनीय कार्य हो । सबै विद्यालयका सबै शिक्षकलाई यो तालिम दिइनु पर्दछ र सायद सबै शिक्षकहरुले प्रविधिसँग परिचित भई सिकाइमा यसको उपयोग गर्ने अवसरबाट वञ्चित हुनु पर्ने छैन आउँदा दिनहरुमा । प्रविधिलाई विद्यालयको चार घेराभित्र प्रवेश गराई सिकाइलाई जीवन्त बनाउनका लागि विद्यालयको पहिलो आवश्यकता यथेष्ट सामग्रीको उपलब्धता, यसको समुचित व्यवस्थापन र सीपयुक्त जनशक्तिको विकास हो ।

सामुदायिक विद्यालयहरुमा सरसर्ती हेर्ने हो भने प्रविधिको प्रयोगका लागि एकातर्फ आवश्यक पूर्वाधारको विकास हुन सकेको छैन भने अर्का तर्फ यसको विकासका लागि प्रचुर सम्भाव्यता हुँदाहुँदै पनि पूर्वाधार निर्माणमा खासै चासो दिएको पाईंदैन । उदाहरणका लागि विद्यालय अवस्थित क्षेत्रमा विजुली बत्तीको सुविधा हुँदा हुँदै विद्यालयका कक्षाकोठाहरुमा यसको विस्तार हुन नसक्नु । विजुली बत्ती नै नभएको क्षेत्रमा त केहि समस्या हुने नै भयो तथापि वैकल्पिक उर्जाको प्रयोग गरेर पनि धेरै विद्यालयहरुमा सिमित रुपमै भए पनि प्रविधिको प्रयोगमा सहजता कायम गर्ने प्रयासहरु भएकै पाइन्छ । यसको अर्थ अब प्रविधि विनाको सिकाइ सहज हुन नसक्ने हुनु नै हो । अर्थात् अबको सिकाइ प्रविधिमा आधारित सिकाइ नै हो ।

विशेषगरी नेपाल सरकार मातहतका निकायहरुबाट विद्यालयहरुलाई प्रविधिमा आधारित सामग्रीहरु अनुदानमा दिने गरिन्छ । कतै कतै सामाजिक सँघ संस्थाहरुबाट पनि विद्यालयहरुलाई सामग्री वितरण गर्ने गरेको पाइन्छ । कतिपय विद्यालयहरुले विद्यालय समुदाय साझेदारीमा समेत प्रविधिका सामग्रीहरु खरिद गर्ने गरेको पाइन्छ । जे जसरी भए पनि विद्यालयहरुमा केहि हद सम्म भए पनि प्रविधिलाई भित्र्याउने प्रयास गरिएकै छ । यद्यपि विद्यालयमा सिकाइका लागि यसको प्रयोग अत्यान्तै न्यून छ ।

साझेदार वा दाता संस्था वा निकायहरुबाट सामग्री हस्तान्तरण त गरिन्छ तर यसको समुचित उपयोग भएको छ या छैन भन्ने विषयमा कसैको चासो देखिदैन । यसको संरक्षण र सदुपयोग भए नभएको अनुगमन नहुँदा विद्यालयहरुमा सामग्रीहरुको राम्रो व्यवस्थापन हुन सकेको छैन । नयाँ पाए पछि पुरानो छाडी दिने बानीका कारण यथेष्ट सामग्रीहरु हुँदा हुँदै पनि धेरै विद्यालयहरुमा यसको सदुपयोग हुन सकेको छैन । सामग्रीहरु त्यत्तिकै बिग्रिएका र बिग्रिएर जाने अवस्थामा पुगेका छन् । कुशल व्यवस्थापकको अभावका कारण बल्ल तल्ल जुटाइएका सामग्रीहरु नष्ट भएर जाने अवस्थामा पुग्नु दुर्भाग्य हो ।

सामग्रीको उचित व्यवस्थापन र समुचित प्रयोगका लागि उक्त सामग्रीसँगको सामिप्यता र अपनत्वको वोध हुनु पर्दछ जुन कुरा सामग्रीको उपयोग गर्न सक्ने सीप विकासबाट मात्र संभव छ जसका लागि शिक्षकलाई प्रविधिमा आधारित तालिम अपरिहार्य छ ।

तालिम सीप विकासको प्रमुख आधार हो । प्रविधिमा आधारित तालिम भन्नाले कम्प्युटर टेक्नोलोजीको प्रयोग नै हो । तालिमले कम्प्युटरको सीपलाई सिकाइमा जोड्न मद्दत गर्नु पर्दछ । कम्प्युटर कसरी चलाउन सकिन्छ भनेर ध्यान केन्द्रित गर्नु भन्दा पनि कसरी कम्प्युटरको उपयोग सिकाइमा गर्न सकिन्छ भन्ने कुरा तालिमका दौरान प्राथमिकतामा पर्नु पर्दछ । अर्थात् कम्प्युटर सीपलाई सिकाइ सँग जोड्ने काम प्रविधिमा आधारित तालिमले गर्नु पर्दछ जसका लागि कम्प्युटर टेक्नोलोजीमा मात्र हैन सिकाइ प्रकृयामा पनि दक्ष प्रशिक्षक, जसले सहज ढङ्गबाट डिजिटल सीपलाई शिक्षणमा प्रयोग गर्न सकोस्, को व्यवस्थापन गरिनु पर्दछ ।

सहभागीहरुले सम्बन्धित विषयवस्तुमा आफ्नो उत्सुकता कायम गरी प्राप्त गरेको सीप प्रति समर्पित भइ यसलाई व्यवहारिक रुपमा प्रयोग गर्नु पर्दछ । हुनतः जागरुकताका साथ कार्यमा संलग्न हुनका लागि वातावरणले प्रभाव पार्दछ तथापि तालिम लिने व्यक्तिहरुको तालिमप्रतिको समर्पण एक पूर्व सर्त नै हो पालन गर्नु पर्दछ । सकभर उर्जाशील व्यक्ति जसले विद्यालयको समग्र सिकाइ प्रकृयाको नेतृत्व प्रदान गर्ने हैसियत राख्दछ लाई अवसर प्रदान गर्न सकेमा यसले विद्यालयमा उपयुक्त सिकाइ वातावरण निर्माणका लागि सहयोग पुग्दछ भन्ने कुरा विद्यालयहरुले विर्सन हुँदैन ।

तालिम प्रदायकले तालिमलाई औपचारिकतामा सिमित गराउने र तालिम प्राप्त गर्नु पर्नेले मात्र सिमित सेवा सुविधा प्राप्त गर्ने अवसरका रुपमा मात्र लिएमा तालिमको उदेश्य पूरा हुन सक्दैन । एकातर्फ शिक्षकलाई दिइने तालिममा अत्यान्तै सेवा सुविधामा कन्जुस्याईं गरिन्छ भन्ने आवाजहरु सुनिन्छन् र यथार्थ पनि यस्तै नै छ भने अर्का तर्फ विद्यालयले तालिमका लागि छनौछ गर्दा आफ्नालाई मात्र प्राथिमकता दिन्छन् र भरसक अधिकारको अक्तियारी प्राप्त गरेको मानिस मात्र हरेक तालिमका अवसरमा सहभागी हुने गर्दछन् भन्ने गुनासो सुनिने गरेको छ ।

प्राप्त गरेको तालिम प्रमाणपत्रमा मात्र सिमित भएमा तालिमको लक्ष पूरा हुँदैन । तसर्थ तालिमलाई उदेश्योन्मुख बनाई यसको कार्यान्वयनमा विशेष ध्यान दिनु जरुरी छ ।

गोविन्द भट्टराई

शिक्षक

होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय

भानु – २, नारेश्वरटार, तनहुँ ।

 

 

 

 

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget