Finding ways of solution for teaching learning issues.

सिकाइ वातावरण निर्माणका उपाय

देश अधाेगतिमा जान अरु केहि गर्नु पर्दैन मात्र देशकाे शैक्षिक अवस्था ध्वस्त पारीदिए पुग्छ । जसरी देशकाे सुरक्षा अवस्थालाई संवेदनशील रुपमा लिइन्छ त्यसरी नै देशकाे शैक्षिक अवस्थालाई लिइएकाे पाईंदैन सायद यसकाे असर तत्काल देखिने नभएर हाेला ।
शिक्षा जीवनकाे हरेक पाटा र पक्षसँग सम्वन्धित हुन्छ । यदि यसमा नकारात्मक असर परेमा वा यसले अपेक्षाकृत गति लिन नसकेमा  जनजीवनमा प्रतक्ष असर पर्दछ र अन्तत समग्र देशकाे समुन्नतिमा नै पूर्णविराम लाग्ने सम्भावना हुन सक्दछ । 
वर्तमान नेपालकाे विद्यालय तहमा लागू भएकाे पाठ्यक्रमले नेपाली जनजीवनकाे स्तराेन्नतिका लागि ठाेस सहयाेग गर्न नसकेकाे भनेर आलाेचना भइरहेकाे अवस्थामा पाठ्यक्रमले अपेक्षा गरेबमाेजिमकाे सिकाइ उपलब्धीकाे सुनिश्चितता गर्न नसक्नु एकदमै चिन्ताकाे विषय हाे । समय परिवर्तन सँगै आफूलाई समायाेजित गर्दै जीवनयापन तथा समृद्धिका लागि यथेष्ठ आयआर्जन गर्न सक्ने नागरिक तयार गर्नु शिक्षाकाे उदेश्य हाे र हुनुपर्छ । राष्ट्रियस्तरमा मात्र नभइ अन्तराष्ट्रियस्तरका पेसा तथा राेजगारीका लागि सक्षम बनाउनु शिक्षाकाे प्रमुख ध्येय हुनु पर्दछ र तदानुसारकाे शैक्षिक कार्यक्रमकाे निर्माणगरी कार्यान्वयन गर्नु पर्दछ । समय परिवर्तन सँगै पाठ्यक्रममा परिवर्तन हुँदै गएकाे छ र भविश्यमा पनि हुँदै जाला तर पाठ्यक्रमकाे प्रभावकारी कार्यान्वयन मुख्य मुद्दा हाे जसका लागि उपयुक्त सिकाइ वातावरणकाे निर्माण हुनुपर्दछ ।
भेदभावरहित बालमैत्री स्वस्थ शैक्षिक वातावरण भएकाे विद्यालयमा विद्यालयसँग सम्वद्ध विभिन्न समितिका पदाधिकारीहरु सँधै शैक्षिक गुणस्तर अभिवृद्धि का उपायहरुकाे चिन्तन गर्दै समभाव र व्यवहारकाे निती अवलम्वन गर्दछन् । कम वाेल्छन् धेरै सुन्छन् सुझावहरुकाे अध्ययन मनन गरीकन ग्रहण गर्दछन् अनि उपयुक्त सल्लाह र सुझावहरुकाे कार्यान्वयनका लागि अल्पकालिन तथा दीर्घकालिन याेजना तर्जुमा गरी सवैकाे सहभागितामा कार्यान्वयनकाे दिशा तर्फ लाग्दछन् । उनीहरु राजनितिक आस्था र विचारकाे आधारमा काेहि कसैसँग वैमनस्यता साँध्दैनन् र विद्यालयलाई शक्ति सञ्चय गर्ने थलाेकाे रुपमा विकास गर्न अग्रसर हुँदैनन् । यस्ताे विद्यालयमा सम्पूर्ण शैक्षिक कार्यक्रमकाे कार्यान्वयनकाे प्रमुख जिम्मेवारी पाएकाे विद्यालय प्रशासकले हरेक कार्यमा सामुहिक निर्णय गर्ने गर्दछन् । राष्ट्रिय शिक्षा नीतिप्रति संवेदनशिल बनी राज्यद्वारा निर्धारित पाठ्यक्रमकाे पूर्ण कार्यान्वयनका लागि लागि पर्दछन् । कुनै आग्रह पूर्वाग्रह विना विद्यालयकाे समुन्नतिका लागि विद्यालयसँग सम्वद्ध सवै पक्षसँग समन्वय गरी इमान्दारीता र निष्ठाका साथ हरकृयाकलापलाई पारदर्शी ढंगबाट सम्पन्न गर्ने गर्दछन् । उनी कुनै राजनितिक दलकाे सदस्य भएर कुनै वाद वा नेताकाे पिछलग्गु बन्दैनन् र दलिय फाइदाका लागि विद्यालयलाई प्रयाेग हुन दिँदैनन् । पेसागत हक हित र अधिकार प्रति उनी धेरै नै संवेदनशील हुन्छन्  र यसकाे जगेर्नाका लागि सदैव सचेत रहन्छन् । यस्तै गरेर कक्षागत तथा विषयगत जिम्मेवारी पाएका शिक्षकहरु कसरी निर्दिष्ट सिकाइ उपलब्धीलाई विद्यार्थीकाे पहुँच सम्म पुर्याउने भनी सदैव चिन्तनशील बनी शिक्षणलाई आफ्नाे प्रधान कार्य बनाइ नयाँ नयाँ विधि तथा प्रविधिकाे खाेज तथा अनुसन्धानमा तल्लीन रहन्छन् । सिकाइलाई सरल  सहज र प्रभावकारी बनाउन एक अर्कामा सहयाेग र सहकार्य गर्न रुचाउँछन् । उनीहरु कुनै शक्तिकाे आडमा आफ्नाे कर्तव्यपरायणतालाई कदापि भुल्दैनन् र पूर्णरुपमा आफ्नाे आचारसंहिता पालन गर्दछन् । यस्ताे विद्यालयका अभिभावकहरु आफ्ना नानीबाबुहरुकाे पढाइकाे वारेमा सँधै सचेत रहन्छन् र विद्यालयमा गइ सिकाइमा देखा परेका र पर्न सक्ने समस्याकाे समाधानका लागि सहकार्य गर्दछन् । हरेक विद्यालयीय गतिविधीलाइ नजिकबाट नियाल्दै उपयुक्त सल्लाह तथा सुझाव दिन कन्जुस्याईं गर्दैनन् । सिकाइका लागि विद्यालयले सञ्चालन गर्ने हरेक कृयाकलापमा साथ र सहयाेग गर्दछन् । कुनै साम्प्रदायिक वा सामुदायिक फाइदाकाे आधारमा विद्यालय चल्नै पर्दछ भनेर दवावमूलक अवस्था सृजना गर्दैनन् । समग्र विद्यालयलाई नै नियमन तथा नियन्त्रण गर्ने हैसियतकाे तह र तप्कामा रहेका पदाधिकारीहरु विद्यालयीय गतिविधीलाइ राजनितिसँग जाेड्दैनन् । विद्यालयकाे अवस्था अध्ययन गर्दछन् र सवल तथा सुधार गर्नु पर्ने कुराकाे लेखाजाेखा गरी उचित मार्गनिर्देश गर्दछन् । याेग्यता क्षमता र कार्यदक्षताका आधारमा व्यक्तिलाई पदमा वहाल राखि शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि आवश्यक पर्ने आर्थिक तथा भाैतिक व्यवस्थापनकाे श्राेत जुटाउनका लागि समन्वयकारी भूमिका निर्वाह गर्दछन् । दलिय वा व्यक्तिगत स्वार्थका लागि विद्यालयमा हस्तक्षेप गर्दैनन् । 
यसरी विद्यालयसँग सम्वद्ध सवैमा सकारात्मक साेच आपसी साथ सहयाेग र सहकार्यकाे वातावरण निर्माण भएकाे विद्यालयका विद्यार्थीहरु सिकाइका लागि लगनशील बन्दै जान्छन् र विद्यालयीय गतिविधी अपेक्षाकृत उपलब्धी उन्मुख हुँदै जान्छ ।
गाेविन्द भट्टराई
शिक्षक
हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु २ तनहुँ

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget