Finding ways of solution for teaching learning issues.

Articles by "EDUCATIONAL ISSUES"

२९ आसाढ, २०७८

शिक्षणलाई समयसापेक्ष गतिशील बनाई वैयक्तिक विभिन्नतालाई मध्यनजर गरी आवश्यकताको आधारमा सहज सिकाइ वातावरण निर्माण गरी उच्च गुणस्तरको उपलब्धि हासिल गराउनु अहिलेको आवश्यकता हो । यसका लागि परम्परागत सिकाइ पद्धतिमा परिमार्जन गरी आधुनिक प्रविधियुक्त सिकाइ वातावरण निर्माण गर्नु पर्दछ ।


प्रविधियुक्त शिक्षणका लागि पूर्वाधार विकास अपरिहार्य छ । खासगरी विद्यालयहरुमा डिजिटल सिकाइ वातावरण निर्माणका लागि अत्यावश्यक सामग्रीहरुको यथोचित व्यवस्थापन हुनु पर्दछ । विभिन्न कारणले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन हुन नसक्ने अवस्था सृजना हुँदा समेत निरन्तर सिकाइ सञ्चालन गर्न सकिने प्रविधि विद्यालयमा स्थापित हुन सकेमा शिक्षा क्षेत्र विना रोकावट सुचारु हुन सक्दछ ।

आधुनिक प्रविधि अर्थात् इन्टरनेटको माध्यमबाट भर्चुअल कक्षा सञ्चालन गर्न सकिएमा सिकाइ थप प्रभावकारी हुने कुरामा कुनै शंका छैन । अहिलेको कोभिड महामारीका कारण विद्यालयहरु बन्द भइरहँदा र विद्यार्थीहरु औपचारिकताका आधारमा कक्षोन्नती भइरहँदा आगामी पुस्ताको भविश्य कस्तो होला ? यहि अवस्थाबाट विद्यालयहरु गुज्रिरहने हो भने यसले मुलुकलाई दीर्घकालीन रुपमा असर पुर्‍याउने निश्चित छ ।

दुई दुई ‌ओटा शैक्षिक बर्षहरु अन्योलताबाट गुज्रिसक्दा पनि अबको विकल्प के हुन सक्दछ भन्ने विषयमा विद्यालयहरुमा खासै योजना बन्न सकिरहेको छैन । लामो समय सम्म विद्यालय बन्द हुँदा पनि अझै विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थिति गराएर विद्यालय सञ्चालन गर्नका लागि धेरै विद्यालयहरु कुरेर बसिरहेको अवस्था छ । अर्थात् शिक्षणका लागि वैकल्पिक उपायहरुमा खासै ध्यान दिइएको छैन । कहिँ कतै वैकल्पिक उपायका बारेमा छलफल हुँदा पनि विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालन गर्न सकिने खालका वैकल्पिक उपायहरुले प्राथमिकता पाउने गरेका छन् । विद्यालयहरु जोखिम मोलेरै भए पनि टोल टोलमा गएर कक्षा सञ्चालन गर्न का लागि तयार देखिन्छन् तर इन्टरनेटको माध्यमबाट सिकाइलाई आधुनिक बनाउनका लागि खासै चासो देखाएको पाईंदैन ।

प्रविधिमा कुनै किसिमको पहुँच नै नहुँदा र विद्यालयमा यसको पूर्वाधार शुन्य हुँदा आधुनिक प्रविधियुक्त विकल्प प्रयोगमा ल्याउन असम्भब हुन्छ । यस्तो विद्यालयले पनि समयसापेक्ष सहज, सरल र प्रभावकारी सिकाइ वातावरण निर्माणका लागि पूर्वाधार विकासमा ध्यान दिनु जरुरी छ । विद्यालयका प्रयासहरु पूर्वाधार विकासतर्फ उन्मुख हुनु पर्ने हो यदि कुनै पूर्वाधार नै छैन भने । तर विद्यालयमा भएका प्रयासहरुले यतातिरको बाटो खासै समात्न सकेको देखिँदैन ।

शिक्षा सम्बद्ध निकायहरुबाट विद्यालयमा प्रविधिको विकासका लागि गत दशकबाट नै पूर्वाधार विकासका कार्यक्रमहरु लागू गरिएको छ । बर्षौनी विद्यालयहरुलाई प्रविधिमा आधारित सामग्री खरिद, व्यवस्थापन र सञ्चालनका नाममा बजेट विनियोजित हुँदा धेरै विद्यालयहरुले केहि हद सम्म भए पनि सामग्री प्राप्त गरेका रेकर्डहरु दाता निकायहरुको अभिलेखालयमा सुरक्षित छन् । कम्प्युटर लगायतका सामग्री सञ्चालनका लागि विजुलीबत्तीको प्रवन्ध नभएका ग्रामिण तथा दुर्गम क्षेत्रका विद्यालयहरुमा समेत सोलार लगायतका वैकल्पिक उर्जाको अनुदानका साथमा सामग्रीहरु वितरण भएका छन् । प्राप्त सामग्री पर्याप्त नहोलान् तर पनि धेरै विद्यालयहरुमा आधुनिक सामग्रीको पहुँच क्रमशः बढ्दै गएको छ ।

सामग्रीको पहुँच नै नभएका विद्यालयहरुमा त पूर्णरुपमा पूर्वाधार विकासका लागि प्रारम्भबाट नै कार्य गर्नु पर्ने नै भयो तर पूर्वाधारको केहि विकास भएका विद्यालयहरुमा कुन हालतमा प्राप्त सामग्रीहरुको उपयोग भएको छ भन्ने कुराले पक्कै पनि अबको वैकल्पिक पद्धतिलाई मार्गनिर्देशित गर्दछ ।

सामग्रीको व्यवस्थापन र प्रयोगको कुरा गर्नु भन्दा पहिले विद्यालयमा विद्यमान पूर्वाधार विकासमा विद्यालयले गरेका प्रयासहरुको चर्चा गर्नु उपयुक्त हुन्छ । विजुलीबत्तीको सुविधा भएका विद्यालयहरुका कक्षाकोठाहरुमा आधुनिक प्रविधिका सामग्रीहरु प्रयोग गर्न सकिने अवस्था छ कि छैन ? विद्यालयले सबै कक्षाकोठामा वायरिङ्ग गरेर इलेक्ट्रिकल एप्लिएन्सेजहरुलाई प्रयोग गर्न सकिने वातावरण निर्माण गरेका छन् कि छैनन् ?

धेरैजसो विद्यालयमा पहुँच हुँदा हुँदै पनि यो कुराले प्राथमिकता पाएको छैन । प्रविधिको प्रयोगका लागि त के प्रचण्ड गर्मीहुने ठाउँमा पनि कक्षाकोठामा पंखाको व्यवस्थापन नगरिएका धेरै विद्यालयहरु छन् । गर्मीका कारण असिनपसिन भएर सिकाइ कृयाकलापमा सहभागिता जनाउनु पर्ने अवस्था हुँदा फ्यान सम्म व्यवस्थापन गर्न तदारुकता नदेखाउने विद्यालयहरुमा सिकाइका लागि प्रविधिको व्यवस्थापन कसरी पो हुन सक्ला र खै ।

अब कुरा गरौं प्राप्त भएका सामग्रीको व्यवस्थापन र प्रयोगको । विद्यालयहरुमा कम्प्युटर लगायतका सामग्रीहरुको व्यवस्थापन त्यति राम्रो भएको पाईंदैन । सामग्रीहरुका लागि धेरै विद्यालयहरुमा प्रयोगशाला कै अभाव छ । प्रयोगशाला भएका विद्यालयहरुमा पनि समय समयमा यसको सरसफाई र मर्मत सम्भार नहुँदा अधिकांश कम्प्युटरहरु छिट्टै बिग्रने गरेका पाइएको छ । कतिपयमा त सामग्री खरिद गरिन्छ तर बर्षौं सम्म ती सामग्रीहरु बक्सामा नै भण्डारण गरिने तीतो यथार्थ हामी सामु छ । अझ भन्नु पर्दा कतिपयमा त राम्ररी चलिरहेका सामग्रीहरु कुनै निकाय वा दाताबाट वा अन्य स्रोतबाट नयाँ सामग्री उपलब्ध भए पश्चात् विस्थापित हुने र कालो कोठामा लगेर भण्डारण हुने गरेको पनि पाइन्छ ।

उपलब्ध भएका सामग्री प्रति विद्यालय संवेदनशील हुन नसक्दा विद्यार्थीहरु यसको प्रयोगबाट विमुख हुनु परेको अवस्था छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आवाज उठाउन नसक्ने र अभिभावकहरुमा सिकाइ सम्बन्धी चिन्तन कम हुने या भनौं सिकाइका लागि विद्यालयप्रति पूर्ण विश्वास भएका कारण यसमा खासै कसैको चासो गएको देखिँदैन ।

पूर्वाधार विकासका लागि सामग्रीको स्रोत जुटाउने नियामक निकाय वा दाता सँस्थाहरुले पनि सामग्रिको व्ययवस्थापन र प्रयोगको अनुगमन नगर्दा अवस्था झनै बिग्रदै गएको छ । स्थानीय चासो विद्यालयको आम्दानी र खर्च अनि त्यसको पारदर्शितामा भए पनि अझ पनि धेरै विद्यालयमा शैक्षणिक व्यवस्थापनको विषयमा कुनै ठोस योजना निर्माण नै हुन सकेको छैन । सामग्रीहरुको व्यवस्थापन औपचारिकतामा सिमित भएको अवस्था छ । धेरै विद्यालयहरुमा यसको संरक्षण, संवर्धन र सदुपयोग हुन सकेको छैन ।

कोभिड का कारण अहिलेको अवस्था अझ जटिल बन्दै गएको छ । अब विद्यालयहरुले भएका सामग्रीको उचित व्यवस्थापन र प्रयोग मात्र होइन थप सामग्री व्यवस्थापन गरेर निरन्तर सिकाइ गर्नु छ । यसका लागि सम्बद्ध सबै गम्भीर हुनु जरुरी छ ।

(गोविन्द भट्टराई, शिक्षक, होरालो शा.शि.स.मा.वि., तनहुँ)


बन्द विद्यालय र नीजि शिक्षक
गोविन्द भट्टराई (www.educationpati.com मा प्रकासित)
देश कोरोना भाइरस (Covid 19) महामारीबाट ग्रसित भइरहँदा विद्यालयहरु लामो समय देखि बन्द छन् । सामाजिक दूरी कायम राखेर बल्ल तल्ल वार्षिक परीक्षाफल सामाजिक सञ्जालबाट प्रकाशन गर्नु बाहेक विद्यालयहरुले अरु खासै कुनै किसिमका कार्यहरु गर्न सकेका छैनन् । पाठ्यपुस्तक व्यवस्थापन नयाँ शैक्षिक कार्यपात्रो तथा कार्ययोजना निर्माण जस्ता कार्यहरु समेत हुन सकेक छैनन् । विद्यालयहरु पूर्ववत् अवस्थामा कसरी सञ्चालन हुन्छन् भन्ने विषय दिनदिनै पेचिलो बन्दै गएको छ ।

यो कोरोना कहरको संत्रासका वीच सरकारी विद्यालयमा अध्यापन गर्ने सरकारी दरबन्दीका शिक्षकहरुमा राज्यबाट नियमित तलवभत्ता प्राप्त हुने हुँदा र विद्यालय सञ्चालन नहुँदा आफ्नो वैयक्तिक काम गर्नका लागि सहज भएका कारण विद्यालय सञ्चालन हुन नसकिरहँदा बहुसंख्यकमा खासै चिन्ता र चासो देखिदैन तर नीजि विद्यालयमा अध्यापनरत शिक्षकहरु तथा सरकारी विद्यालयमा नीजि स्रोतमा अध्यापनरत शिक्षकहरुमा विद्यालय सुचारु नहुँदा जागिर जोखिममा पर्ने र आफू बेरोजगार हुने चिन्ता बढ्दै गएको छ । विद्यालय बन्द भए सँगै जागिर गुमाउनु पर्ने पीडाले शिक्षकहरुलाई शसंकित मात्र बनाएको छैन भोलीका दिनमा कसरी जीविकोपार्जन गर्ने भन्ने अन्यौल पनि बढ्दै गएको छ ।
सरकारी विद्यालयका सरकारी दरबन्दीमा कार्यरत शिक्षकहरुले चैत्र महिना देखिको नियमित तलवभत्ता प्राप्त गरिसके भने सोहि विद्यालयमा नीजिस्रोतमा कार्यरत शिक्षकहरुले कहिँ पाउदै नपाएका त कतै केहि पेस्की रकम मात्र पाएका छन् । कतिपयलाई त विद्यालयहरुले विद्यालय बन्द भएको अवस्था देखाइ पेसाबाट विदा समेत दिइसकेका छन् । अर्को तर्फ नीजि विद्यालयमा कार्यरत शिक्षकको पीडा पनि उहि छ । कतिले जागिर छोड्नु पर्ने अवस्था आइसकेको छ भने कतिलाई सुरक्षित नहुने पो होकि भन्ने भय छ । नीजि विद्यालय सञ्चालकहरुले आफ्ना शिक्षकहरुलाई विभिन्न विद्यालयीय कार्यमा खटाइरहेका छन् । तथापि उनीहरुले अहिले तलव भने प्राप्त गर्न सकेका छैनन् । कतिपयले पेस्की रकम प्राप्त गरेको भए पनि उक्त पेस्की प्राप्त गर्ने शिक्षकको संख्या अत्यान्तै न्यून छ ।
कसरी विद्यालयलाई नियमित गर्न सकिन्छ भनेर राज्यले विकल्प नदिए सम्म शिक्षकहरुमा भएको मनोवैज्ञानिक संत्रासको अन्त्य हुने वाला छैन । खास यो समयमा राज्यले पनि कुनै नीति निर्माण गर्न सकेको छैन जसले गर्दा एकातर्फ लाखौं विद्यार्थीको पढाइको अन्यौल छ भने अर्को तर्फ हजारौ नीजि स्रोतमा कार्यरत शिक्षकहरुको जागिर धरापमा परेको छ ।
कोरोनाबाट सृजित विषम परिस्थितिमा कसरी विद्यालयहरुलाई नियमित गराउन सकिन्छ भन्ने विषयमा सरकारी विद्यालयको तुलनामा नीजि विद्यालय तथा नीजि स्रोतमा काम गर्ने शिक्षकहरु बढी संवेदनशील भएर विकल्पको खोजीमा लागेको पाइन्छ । नीजि विद्यालयहरुले रातारात आफ्ना शिक्षकहरुलाई प्रविधिमा आधारित तालिमहरुको आयोजना गरेको पाइएको छ । देशका ठूला शहरहरुमा त वैकल्पिक कक्षा सञ्चालनका लागि अनलाइन कक्षा (Virtual class) को तयारी गरेर यसलाई मान्यता दिनका लागि राज्यसँग पहल भइरहेको पाइएको छ । तर मुलुकभर अनलाइन कक्षा सञ्चालन गर्न त्यति सहज भने छैन । झट्ट हेर्दा कठिन भए पनि अब कक्षा सञ्चालनका लागि यो भन्दा अर्को खासः उपाय पनि सायद छैन । त्यसैले अहिलेको परिवेशमा प्रविधिको माध्यमबाट नियमित विद्यालय सञ्चालन गर्नु विद्यालयहरुको वाध्यता बनेको छ ।
अनलाइन तथा दूर शिक्षा (रेडियो, टेलिभिजन, केवल नेटवर्क, आदि) को माध्यमबाट सिकाइलाई सुचारु गर्नका लागि नीजि विद्यालयहरुलाई त्यति सहज त नहोला तथापि उनीहरुको आँट र हिम्मत भने प्रशंसनीय छ । यो अवस्थामा राज्यले सहकार्य गरी तत्काल विद्यालयहरुको परिवेश अनुसार उपयुक्त विकल्पको छनौट गरी या सबै विकल्प प्रयोग गर्ने गरी कक्षा सञ्चालनको आधार स्पष्ट पार्न सके विद्यालय तथा शिक्षकमा भएको अन्यौलको अन्त्य हुन सक्दछ ।
संकटको समयमा श्रम गरेर जीविकोपार्जन गर्नेहरुको श्रमको स्रोत नै गुम्ने हो भने यसले थप संकट सृजना गर्दछ । नीजी स्रोतका शिक्षकहरुले अत्यान्तै न्यून तलवमा आफ्नो श्रम साटिरहेको परिवेशमा उनीहरुलाई हक र अधिकारको सुनिश्चितता गर्नुको अलावा सेवाबाट नै अवकास दिने कार्य मानवीय कार्य होइन । राज्यको शैक्षिक स्तर उकास्न अहम भूमिका निर्वाह गरेका नीजि विद्यालयका शिक्षकहरुको रोजीरोटीको संरक्षण गर्ने दायित्व प्रथमतः नीजि विद्यालय सञ्चालक कै हो । यो जिम्मेवारीबाट कोहि पनि पछाडि हट्न मिल्दैन । त्यस्तै गरेर सरकारी विद्यालयमा नीजि स्रोतमा कार्यरत शिक्षकहरुको पनि रोजीरोटी गुम्न दिनु हुँदैन ।
न्यून ज्यालमा अधिकतम काम लगाएका विद्यालयहरुले संसार नै कोरोनाको संकटमा भएका बेला अमानवीय ढंगबाट विद्यालयबाट निकाल्नु हुँदैन । बरु विद्यालय सञ्चालनका आधारहरु खोजी गरी वैकल्पिक ढंगबाट विद्यालय सञ्चालन गर्नु पर्दछ जसका लागि शिक्षकहरु तयार छन् र तयार हुनेछन् ।
पछिल्लो समय सरकारी विद्यालय र नीजि विद्यालयमा कार्यरत शिक्षकहरु वीचमा भएको भेदभाव छताछुल्ल भएको छ । अध्यापन गर्नेलाई शिक्षक भनिन्छ । शिक्षक शिक्षक नै हो त्यो चाहे सरकारी विद्यालयमा शिक्षण गरोस् या कुनै नीजि विद्यालयमा । शैक्षिक उन्नयनका लागि शिक्षकको अहम् भूमिका हुन्छ र शिक्षकहरुले निभाएका छन् । कार्य क्षेत्रका आधारमा वा कार्य गर्ने विद्यालयको किसिमका आधारमा शिक्षक वीच भेदभाव हुनु हुँदैन । शिक्षकहरु वीच सद्भाव सहयोग र सहकार्य हुनु जरुरी छ ।
शिक्षकहरुको हक हित र अधिकारका लागि काम गर्ने पेसागत सँघ संगठनहरुले अब नीजि क्षेत्रमा काम गर्ने शिक्षकहरुलाई पनि समेटेर सँगसँगै लिएर हिड्नु आवश्यक छ । सबैको साथ र सहयोग भएमा मात्र शिक्षकको पेसागत विकास संभव हुन्छ ।
अहिलेको अवस्थामा नीजी स्रोतमा कार्यरत शिक्षकहरुलाई समस्या परेको छ । यो अवस्थामा ती शिक्षकहरुको हक र अधिकारका लागि तमाम शिक्षकहरुले हातमा हात काँधमा काँध मिलाएर अगाडी बढ्ने बेला आएको छ ।
शिक्षकको पेसाको सुरक्षा विद्यालय सञ्चालनबाट हुने हुँदा अब हामी शिक्षकहरु मिलेर सामाजिक दूरी कायम गरी कोरोना महामारी नियन्त्रण गर्नु पर्ने यो समयमा एक आपसमा सहकार्य गरी वैकल्पिक माध्यमहरुको प्रयोग गरी शिक्षणलाई सुचारु गर्नै पर्ने बेला आएको छ । यसका लागि आवश्यक पर्ने प्रविधिमा आधारित शिक्षण सम्बन्धी सीप एक आपसमा आदनप्रदान गर्ने वातावरण निर्माण गर्न शिक्षक सँग सम्बध्द सम्पूर्ण सरोकारवाला सरकारी निकायहरु, नीजि विद्यालय संचालकहरु तथा पेसागत सँघ संगठनहरु तत्पार रहनु पर्दछ । शिक्षकको पेसागत सुरक्षालाई पहिलो प्राथिमकतामा राखि कोरोना कहरको यो विषम परिस्थितिमा विद्यालयहरुलाई पूर्ववत अवस्थामा फर्काउने चुनौती  सँग पौखेजोरी खेल्न एकजुट भएर लाग्नुको विकल्प छैन ।
(भट्टराई भानु २ तनहुँ स्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयका शिक्षक हुन्)





गोविन्द भट्टराई
३१ वैसाख २०७७ भानु
कोरोना महामारी (Covid 19 Pandemic) बाट विश्व आक्रान्त भएको अवस्थामा हाम्रो जस्तो अल्पविकसित मूलुकका लागि विद्यालयीय शिक्षालाई सञ्चालन गर्नका लागि जटिलता सृजना भएको छ । अहिले महिनौं देखि विद्यालय तथा विश्वविद्यालयहरु बन्द छन् । कुनै पनि शैक्षणिक कृयाकलाप सञ्चालन हुन सकेका छैनन् । नियमितरुपमा सञ्चालन हुँदै आएका विभिन्न तहका परीक्षाहरु अनिश्चितकालका लागि स्थगित छन् । यसबाट विद्यार्थी तथा अभिभावकमा अन्यौल सृजना भएको छ । राज्यबाट पनि अबको परिस्थितिमा कसरी शिक्षा लाई अगाडी बढाउने भन्नु कुरामा खास ठोस योजना निर्माण हुन सकेको छैन । कोरोना संक्रमण दिनदिनै बढ्दै जाँदा थप अन्यौलता सृजना भएको छ ।

स्वतस्फूर्त रुपमा विभिन्न विद्यालयहरुका केहि सिमित शिक्षकहरुले सञ्चालन गर्दै गरेको अनलाइन कक्षाहरुमा  विद्यार्थीको पहुँच एकदम न्यून छ । प्रविधिको अभाव तथा प्रविधिको प्रयोगमा भएको जटिलताका कारण धेरै अध्यापकहरुले अनलाइन कक्षा सञ्चालन गर्न तीब्र इच्छाशक्ति भए पनि नसकिरहेको अवस्था छ । यु ट्युव जस्ता च्यानलहरुमा अनलाइन कक्षाहरुको उचित व्यवस्थापन हुन सकेको छैन । कक्षा कोठामा गएर परम्परागत रुपमा सिकाइ सञ्चालन गर्न सक्ने अवस्था छैन जसले गर्दा अब कसरी विद्यार्थीको सिकाइलाई निरन्तरता दिने भन्ने विषय पेचिलो बन्दै गएको छ ।
विश्वविद्यालयहरुले अनलाइन कक्षा कार्यविधि ल्याइसके पनि सबै ठाउँमा यसको प्रयोग र पहुँच जटिल बनेको छ । विना पूर्वाधार ल्याइएका कार्ययोजना कार्यान्वयन गर्न कठिन देखिदैछ । तसर्थ यसको कार्यान्वयनका लागि पूर्वाधार विकासमा जोड दिनु पर्ने देखिन्छ । अझ विद्यालय तहको शिक्षाको कुरा गर्ने हो भने त खासै विद्यालयहरु अब कसरी बैकल्पिकरुपमा नियमित कक्षा सञ्चालन गर्न सकिन्छ भनेर यो विषयमा चिन्तनशील नै नभएको पाइएको छ । लगातारको लकडाउन अनि राज्यले लकडाउन अवधिलाई सार्वजनिक विदा भनेर भनि सकेको अवस्थामा शिक्षण सँग सम्वद्ध निकायहरुले खासै चासो देखाएको पाइदैन । अब पनि वैकल्पक कक्षा सञ्चालनको बाटो नखोज्ने हो भने देशको शैक्षिक अवस्था भद्रगोल हुँदै छ ।
सम्विधानतः विद्यालयीय शिक्षा स्थानीय सरकार मातहत छ । यसको सञ्चालन नियमन र नियन्त्रणको जिम्मा स्थानीय सरकारकै हो । प्रत्येक स्थानीय पालिकाहरुले यो विषयलाई गम्भिरतापूर्वक लिनु आवश्यक छ । विद्यालयहरुमा गठन हुने विभिन्न समितिहरुमा स्थानीय सरकारको धेरै चासो र प्रभाव रहे पनि नियमित कक्षा सञ्चालन तथा शैक्षिक गुणस्तर अभिवृत्तिका कार्यक्रमहरुमा यसको खासै चासो देखिँदैन । तसर्थ विद्यालयीय शिक्षालाई यो विषम परिस्थितिमा सहजीकरण गर्नका लागि स्थानीय निकायले तत्काल कदम चाल्नु पर्दछ ।
के गर्ने  ?
अहिले विद्यालयहरु बन्द छन् । भर्ना लगायतका विद्यालयका नियमित गतिविधिहरु स्थगित छन् । विद्यालयको सञ्चालनको जिम्मा पाएका विद्यालयीय समितिहरु र विद्यालयका प्रधानाध्यापकहरुको ध्यान विद्यालय सञ्चालनमा नभइ कोरोना संक्रमणमा छ । हुन त संकटको बेला यसको न्यूनीकरणमा सबैको साथ र सहयोग अपरिहार्य छ । तर आफ्नो प्रमुख कर्तव्य र जिम्मेवारीबाट कोहि पनि पछाडि हट्न मिल्दैन । सास हुन्जेल आस भने जस्तो कोरोना बाट मरिने हो कि बाँचिने हो भनेर मर्नु भन्दा अगाडी खुट्टा तन्काउनु हुन्न । डटेर यसको सामना गर्दै आफ्ना दैनिकीहरु पनि यथावत सञ्चालन गर्नु पर्दछ । तसर्थ सम्वद्ध सबै यो विषयमा चिन्तनशील हुनु जरुरी देखिन्छ ।
अहिलेको परिस्थितिमा विद्यालयीयक कक्षा सञ्चालनका लागि अनलाइन कक्षा उपयुक्त हुन सक्छ तर हाम्रो परिवेसमा यसका धेरै जटिलताहरु छन् । अत्यान्तै न्यून विद्यार्थीहरुको पहुँच यसमा छ । पहुँचमा भएका लाई यसको माध्यमबाट कक्षा सञ्चालन गर्न सकिएला । तर बहुसंख्यक यसबाट टाढा भएकोले यसको साथ साथै अन्य विकल्पहरुमा छलफल हुनु जरुरी छ ।
विद्यालय सञ्चालनको प्रमुख दायित्व प्राप्त गरेको स्थानीय निकायले तत्काल आफ्नो पालिकामा वैकल्पिक कक्षा सञ्चालन नीति निर्माण गरी कार्यान्वयन गर्नु पर्दछ । पालिकाको मार्ग निर्देशनमा विद्यालयहरुले वैकल्पिक कक्षा सञ्चालनमा तदारुकता देखाउनु आवश्यक छ । विद्यालयका प्रधानाध्यापकहरुले आपसी छलफल र परामर्शमा साझा कक्षाहरुको व्यवस्था मिलाउन सके केहि हद सम्म भए पनि सिकाइ वातावरण निर्माण गर्न सकिन्छ ।
पालिकाहरुले वैकल्पिक कक्षा सञ्चालनका लागि आवश्यक वजेट विनियोजन गरी तत्काल कक्षा व्यवस्थापनमा ध्यान दिन जरुरी छ । स्थानीय स्तरमा सञ्चालनमा रहेका एफ एम रेडियो हरुबाट कक्षागत रुपमा तयारी कक्षाहरु सञ्चालन गर्ने विकल्प सायद सबै क्षेत्रमा सहज हुन सक्छ । तसर्थ तत्काल समन्वय गरी रेडियोबाट नियमित रुपमा शिक्षण सञ्चालन गर्नु पर्दछ ।
शिक्षणमा अहिलेको परिवेशमा प्रविधि अपरिहार्य बन्दै गएको अनुभूति यो विषम परिस्थितिमा भएको छ । अब क्रमशः सिकाइका कृयाकलापहरुमा यसको प्रयोग अनिवार्य गर्नु पर्दछ । यसका लागि शिक्षकहरुलाई प्रविधिमैत्री तालिमको जरुरत छ । विना तालिम सबै शिक्षकहरुबाट प्रविधिको प्रयोग गर्न सक्ने अवस्था छैन । तसर्थ शिक्षकका तोकिएका सक्षमताहरुको विकास गर्ने अवसरका रुपमा यो कोरोना कहरको समयलाई सदुपयोग गर्न स्वयं शिक्षक तयार हुनु पर्दछ । शिक्षकमा प्रविधि सम्वन्धी सीपको सक्षमता हासिल गराउनकालागि विद्यालयले वातावरण निर्माण गर्नु पर्दछ ।
सबै शिक्षकले तत्काल अनलाइन कक्षा सञ्चालन गर्न नसके पनि अनलाइन कक्षामा विद्यार्थीको सहज पहुँच नभए पनि कमसेकम अफलाइन भिडियोहरु निर्माण गरेर विद्यार्थीको सिकाइका लागि केहि हद सम्म भए पनि सहजीकरण गर्न सकिन्छ । तसर्थ आफ्नो कक्षामा अध्यापन गर्ने विषयमा शिक्षकहरुले आफैंले अफलाइन भिडियोहरु निर्माण गरी सामाजिक सञ्जालको माध्यमबाट धेरै विद्यार्थीहरुको पहुँचमा पुर्याउन असम्भव भने छैन । यो विषयमा हरेक शिक्षक तयार हुनु पर्ने अवस्था सृजना भएको छ । 
विद्यार्थीहरुले सहजै शैक्षिक सामग्रीहरु मा प्राप्त गर्न नसके पनि शिक्षकले आवश्यक सामग्रीहरु वेबबाट संकलन गरी विद्यार्थीको पहुँच सम्म पुर्याउने कार्य गर्न सकिन्छ । अहिले सामाजिक सञ्जालको प्रयोग नगर्ने संख्या अत्यान्तै कम छ । तसर्थ विभिन्न वेबसाइटबाट आवश्यक सामग्री संकलन गरी विद्यार्थीलाई सहजीकरण गर्न तर्फ शिक्षकहरु लाग्ने बेला आएको छ । यसबाट केहि हद सम्म भए पनि विद्यार्थीहरु लाभान्वित हुन्छन् ।
स्थानीय तहहरुले पायक पर्ने एफ एम रेडियो सँग समन्वय गरी समय व्यवस्थापन गरेर आवश्यक कक्षाहरुको व्यवस्थापन गर्दै जाने र विषय शिक्षकहरुले उक्त कार्यमा स्थानीय निकायहरुलाई सहयोग गर्नु पर्दछ । किनभने अहिलेको अवस्थामा विद्यार्थीहरु रेडियोको पहुँचमा छन् । सुनेर भए पनि केहि हद सम्म अध्ययन गर्ने वातावरण निर्माण गर्न सकिन्छ ।
अहिले मुलुक कोरोना सन्त्रासबाट गुज्रीरहेका बेला धेरै ध्यान त यसको रोकथाम मा नै हुनु पर्छ र छ पनि । तर यसको रोकथामका साथ साथै आफ्नो पेसासँग सम्वन्धित कार्य नगर्ने हो भने यसले अझ अर्को संकट सृजना गर्न सक्दछ । तसर्थ हामी सबैले आफ्नो कर्तव्य र जिम्मेवारीका लागि आफूले सकेको सहजीकरण गर्नु पर्दछ । सबै क्षेत्रका कार्यहरु ठप्प भइरहँदा यसले मानिसमा निराशा पैदा गराउँदछ र मानसिकरुपमा असर पुर्याउँदछ । त्यसैले विपदका समयमा पनि नियमित कार्यमा सुरक्षा अपनाएर केहि न केहि कार्य गर्ने प्रयास भएमा यसले सन्त्रासलाई कम गर्छ र मानिस मानसिकरुपमा विपदसँग जुद्नकालागि तत्पर हुन्छ । यसले हरेक व्यक्तिमा आत्मबल अभिवृद्धि गर्न मद्दत पुर्याउँदछ । तसर्थ यस विषयमा पेसाकर्मीहरु सचेत भएर प्रयासरतः रहुनु पर्दछ ।शिक्षकको धर्म शिक्षण हो । शिक्षण भनेको निस्वार्थभावमा गरिने सेवा हो । शिक्षण साधना पनि हो । जति धेरै यसमा चिन्तन गरिन्छ त्यति नै यसमा निखारता प्राप्त हुने गर्दछ । तसर्थ शिक्षणका लागि पूर्व तयारी आवश्यक भएको हो । हरेक शिक्षकको ध्यान नयाँ नयाँ विधिको खोज र अनुसन्धानमा हुनु पर्दछ भन्ने कुरामा कुनै दुइमत छैन । 
शिक्षकले शिक्षणसँग सम्बन्धित समस्याहरुको उठान गर्ने हो । यसको समाधान गर्दै शिक्षणलाई सहज र प्रभावकारी बनाउनका लागि चिन्तन गर्ने हो । यसको अलावा समाजमा व्याप्त विविध विषयमा सचेतना फैलाउने कार्य पनि शिक्षकको हो । आफ्नो पेसासँग सम्वन्धित हक अधिकार को संरक्षण सम्वर्धन र सुनिश्चितताका लागि सचेत हुने हो । सामाजिक विकृति तथा विसंगतिका विरुद्द लाग्ने हो । सामाजिक न्याय स्थापन गर्नका लागि भूमिका निर्वाह गर्ने हो । तर कुनै पनि दलिय राजनितिलाई प्रस्रय दिने गरी कार्य गर्ने होइन । दलिय राजनिति शिक्षक र शिक्षण कार्यमा हुनु हुँदैन । त्यसैले हाम्रा पेसागत सँघ संगठनहरु कुनै पनि राजनितिक दलका भातृसँस्था होइनन् मात्र सुभेक्षुक सँस्था मात्र हुन् भन्ने कुरा हामी शिक्षकहरुले बुझ्न जरुरी छ । कुनै पनि दलको राजनितिका बारेमा सामाजिक सञ्जालका भित्ता प्रयोग गर्ने कार्य पेसाकर्मीबाट हुनु सायद राम्रो कुरा होइन होला । सम्विधानले व्यवस्था गरेको विधि र पद्दतिका बारेमा विचार प्रकट गर्नु या सामाजिक वेथितिका बारेमा धारणा सार्वजनिक गर्नु नागरिक दायित्व हो । तर कुनै पनि दलको पक्षपोषण गर्ने कार्य हाम्रो आचारसंहित भित्र पर्दैन होला । 
शिक्षाको बागडोर सम्हालेका पदाधिकारीहरुबाट शिक्षामा देखिएका बेथिति को नियमन र नियन्त्रण गर्दै  यो विषम परिस्थितमा सिकाइको निरन्तरताका लागि अविलम्ब तत्परता देखाउनु आवश्यक छ । शिक्षण सम्वन्धी चिन्तन गरी वैकल्पिक कक्षा सञ्चालनको व्यवस्था मिलाउनका लागि सबै शिक्षा सँग सम्वद्ध वर्ग वीच सामाजिक दुरी कायम राखि छलफल र परामर्शको माध्यमबाट विद्यालयीय शिक्षाको व्यवस्थापनमा तत्काल जुट्ने र केहि हद सम्म भए पनि शैक्षिक क्षेत्रमा देखिएको निराशा र अन्यौलता को अन्त्य गर्नका लागि आ-आफ्नो ठाउँबाट सहयोग गर्ने बेला आएको छ ।






MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget