१६ मंसिर, धरान । भोजपुरमा विसं. २०३१ सालमा जन्मेर धरान झरेका कांग्रेस नेता तिलक राई पहिलोपटक ०५४ सालमा घरान– १८ को वडाध्यक्षमा चुनाव लडेर हारे । ०७२ को स्थानीय चुनावमा उनी मेयरमा लडे, त्यहाँ पनि हारे । तेस्रो पटकको चुनावी प्रतिस्पर्धामा उनी उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भई छाडे ।
दौरा सुरुवालमा सजिएर हँसमुख राईले सोमबार नै मुख्य निर्वाचन अधिकृतबाट सपथ खाइसकेका छन् । नेपाली कांग्रेसले धरानमा ऐतिहासकै पहिलोचोटि विजयोत्सब मनाएको छ ।
धरानको मेयरमा ०४८ सालयता नेपाली कांग्रेसले एकपटक पनि जित हात पारेको थिएन । ‘लालकिल्ला’का रुपमा चिनिँदै आएको धरानमा यसपालि एमाले र माओवादी मिलेको अवस्थामै कांग्रेसले फराकिलो मतान्तरमा चमत्कारिक जीत हात पार्यो । कांग्रेसका तिलकले २६७०९ मत ल्याउँदा नेकपाका प्रकाश राईले २३९१४ मत पाएका छन् । दुई उम्मेदवारवीचको मतान्तर फराकिलो, अर्थात २७९५ छ ।
को हुन् तिलक ?
मेयरमा निर्वाचित तिलक राई कांग्रेसले ठूला वा चर्चित नेता होइनन् । उनी सामान्य र सरल व्यक्ति हुन् । तर, जनताको विश्वास जित्न ठूलो नेता चाँहिदैन, जनतामा भिजेको नेता चाहिन्छ भन्ने कुरा तिलकले सावित गरिदिए ।
अहिलेसम्म जो जनप्रतिनिधि हुनुहुन्थ्यो,उहाँहरुले जनताको अपेक्षा अनुसार काम गरेनन् । काम गर्न सकेनन् । चुनावी नारा मात्रै भयो । जनताको भावनालाई उनीहरुले कदर गरेनन् । प्रतिपक्ष वा सर्वसाधारणसँग सहकार्य गरेनन् ।
सुनसरीका कतिपय कांग्रेसकै नेताहरुको तर्कलाई आधार मान्ने हो भने धरानमा तिलक राईको व्यक्तित्वले मात्र यो जित हात लागेको होइन, सत्तारुढ नेकपाप्रतिको धराने जनताको वितृष्णाको समेत प्रतिफल हो तिलक राईको जित । एक स्थानीय नेता त यतिसम्म भन्छन्, ‘धरानमा कांग्रेसले जितेको होइन, नेकपाले हारेको हो ।’
कांग्रेस नेता तिलक राई भोजपुरमा जिन्मएका हुन् । पूर्वसैनिक पृष्ठभूमिका उनले धरानमै आफ्नो वाल्यकाल बिताए । शिक्षा दीक्षा पनि यहीँ लिए । तथापि उनले एसएसलसी उत्तीर्ण गरेपछि आफ्नो औपचारिक अध्ययन धेरै माथिसम्म लैजान चाहेनन् ।
धरानमा नातागोताका मानिस र साथीसंगीहरु लाहुरे बन्ने प्रचलन रहे पनि तिलकको मन त्यसतर्फ आकर्षित भएन । बरु उनी राजनीति र सामाजिक संघ संस्थाहरुमा रम्न थाले । यही क्रममा उनी किरात राई यायोख्खाको केन्द्रीय अध्यक्षसम्म बने । निवर्तमान अध्यक्ष राईलाई यसपालि मेयरमा जित हात पार्न किरात राई यायोख्खाको संगठित भोटले समेत सहयोग गर्यो ।
नेपाली कांग्रेसमा लागेर उनी तरुण दलको धरान अध्यक्ष बने । उच्च शिक्षा नलिएका र तरुण दलको नेता बनेका कारण तिलकलाई कतिपयले गुण्डागर्दी गर्ने जमातका रुपमा हेर्न खोज्नु स्भावाविकै थियो । सम्भवतः यस्तै छवि बनेका कारण ०७४ को चुनावमा उनलाई धरानको वौद्धिक समुदायले स्वीकार्न सकेको थिएन ।
तर, तरुण दलको नेता हुँदा पनि तिलकको व्यक्तिगत स्वाभावचाहिँ अलि फरक थियो, जसले उनको स्वीकार्यतालाई फराकिलो बनाउँदै लग्यो । तरुण दलबाट राजनीतिक यात्रा सुरु गरेका उनी विपक्षीहरुसँग पनि नरम, सबैसँग मिलेर काम गर्न सक्ने, विपक्षीविरुद्ध कहिल्यै छुचो प्रतिक्रिया नदिने भलाद्मी व्यक्तिका रुपमा देखा परे । उनको छवि तरुण दलको भन्दा माथि उठ्यो ।
नगर क्षेत्रभित्र गाह्रो साह्रो पर्नेहरुलाई सहयोग गर्ने, स्थानीयवासीमा विवादहरु मिलाउन लाग्ने, प्रहरीसँगको सहकार्यमा सामाजिक कामहरु गर्ने जस्ता कार्यहरुमा तिलक सधैं अग्रस्थानमा हुन्थे । किरात राईको सामाजिक संगठनमा केन्द्रीय नेता बनेपछि उनको संगतको दायरा कांग्रेससँग मात्र सीमित नभएर फराकिलो बन्यो । वामपन्थीहरुले पनि तिलक राईभित्रको शालीनतालाई चिन्न थाले ।
यसअघि वडाध्यक्ष र मेयरमा चुनाव लडेर हारेका तिलकलाई ती दुबै चुनावले स्थानीयवासीमा थप परिचित गरायो । खासगरी ०७४ को चुनावमा तत्कालीन एमालेका तारा सुब्बा र माओवादीका अइन्द्रविक्रम बेघासँग प्रतिस्पर्धा गर्नेक्रममा तिलक धरानबासीका घरघरमा पुगे, जसले गर्दा यसपटक उनले धरानबासीसमक्ष थप परिचय दिइरहनु परेन ।
नरम स्वाभावका तिलकले धरानमा नेपाली कांग्रेसका लागि एउटा इतिहास रचेका छन् । उनी धरानको नगर प्रमुख बनेका छन् । तिलक राईले यो सफलता आफैं नेपाली कांग्रेसका नेता भएका बेला प्राप्त गरेका हुन् । उनी कांग्रेसका धरान नगर सभापति हुन् । अहिलेसम्म उनलाई नेपाली कांग्रेसले जिल्ला सदस्यसमेत बनाएको छैन । तर, अबको यो जितपछि उनको राजनीतिक यात्राले नयाँ क्षितिजको ढोका उघारिदिएको छ ।
यसअघि नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङले मेयरमा दाबी गरेका थिए । मेयरमा उठ्नकै लागि तामाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जागिरबाट राजीनामा समेत दिइसकेका थिए । तर, सुजेन्द्रले तिलकलाई सघाउने भन्दै आफ्नो दाबी फिर्ता लिए ।
कांगे्रेसका सुनसरीका प्रवक्तासमेत रहेका सुजेन्द्र भन्छन्,‘तिलक राईजीको जीतप्रति म अत्यन्तै खुशी छु ।’
वामपन्थीहरुको पेलाइमा पर्दै आएका धराने कांग्रेसीजन यो उपचुनावमा एकजुट बने, यसपालि कसैले पनि अन्तरघात गरेनन् र जित हात पारी छाडे । यस्तो हुनमा तिलकको शान्त स्वाभावले पनि काम गर्यो । उनी कांग्रेसका सबै गुटप्रति नरम मानिन्छन् ।
स्थानीय तहमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन : तिलक राई
मेयरमा निर्वाचित तिलक राईले आफ्नो जितलाई सम्पूर्ण धराने जनताको जीत भनेका छन् । अनलाइनखबरलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले अब धरान उपमहानगरपालिकाभित्र कोही पनि सत्तापक्ष र प्रतिपक्ष नहुने, सबैले मिलेर काम गर्ने बताए ।
स्थानीय तहमा संघ र प्रदेशमा जस्तो सत्तापक्ष र प्रतिपक्ष भन्ने नै नहुने राईले बताए ।
नवनिर्वाचित मेयर तिलक राईसँग अनलाइनखबरले गरेको छोटो कुराकानी–
यो मेरो जित धरान नगरवासीहरुको अपेक्षा हो । नगरवासीहरुले धरानलाईलाई फरक ढंगले अगाडि बढाउन खोजेका छन् । नगरवासीहरुमा विकास र समृद्धिको जुन आशा र अपेक्षा छ, त्यसलाई अगाडि बढाउन उनीहरुले चाहेका छन् । त्यसैले यसलाई म नगरवासीहरुको जित हो भन्छु ।
मैले भनेको छु, यो जनताको जित हो । यो कसैले हारेको र कसैले जितेको भन्दा पनि जनताको जित हो । मलाई जनताले जिताएका हुन् । जनतामा एक किसिमको परिवर्तनको सोच थियो । यसैलाई अगाडि बढाउन नगरवासीहरुले अनुमोदन गरेका हुन् भन्ने परिप्रेक्षमा मैले यसलाई लिएको छु ।
म वामपन्थी त भन्दिनँ, तर अहिलेसम्म जो जनप्रतिनिधि हुनुहुन्थ्यो,उहाँहरुले जनताको अपेक्षा अनुसार काम गरेनन् । काम गर्न सकेनन् । चुनावी नारा मात्रै भयो । जनताको भावनालाई उनीहरुले कदर गरेनन् । प्रतिपक्ष वा सर्वसाधारणसँग सहकार्य गरेनन् । त्यही भएर जनताले उनीहरुको विपक्षमा मत हाले ।
अब स्थानीय तहमा सत्तापक्ष–प्रतिपक्ष भन्ने हुँदैन । संघमा पो सत्तापक्ष, तिपक्ष भन्ने हुन्छ, प्रदेश सरकारमा पनि सत्तापक्ष–प्रतिपक्ष हुन्छ । स्थानीय तहमा त जित्नेजति सबै सत्तापक्ष हो । अब यहाँ कोही पनि एमाले, माओवादी, कांग्रेस भन्ने हुँदैन । चुनावसम्म मात्रै हो, स्थानीय तहमा सत्तापक्ष–प्रतिपक्ष भन्ने नै हुँदैन । त्यसैले सबैको भ्वाइसलाई लिएर अगाडि बढ्ने हो ।
स्वाभाविक रुपमा धरानका जनताका धेरै अपेक्षाहरु छन् । उपमहानगरपालिकाभित्र थुप्रै योजनाहरु अलपत्र छन् । यी योजनाहरुलाई अगाडि बढाउनुपर्ने एउटा चुनौती छ । जनताको अपेक्षा र भरोसालाई अगाडि बढाउनुपर्ने चुनौती छ । यी चुनौतीहरुलाई समाधान गर्नका लागि म सबैसँग हातेमालो गरेर अगाडि बढ्नेछु । उपमहानगरपालिकामा मैले के काम गर्ने भन्ने प्रष्ट छ, म ती कामहरु गर्छु ।
Onlinekhabar
Post a Comment